‘डोटेली संस्कृतिलाई ओझेल पारिएर गीत निकालिँदैछ’
धनगढी: गायक तथा संगीतकार बिष्णु भट्टसँग दिनेश एफएमको कार्यक्रम प्रभात विमर्शका संचालक पदम राज जोशीले कुराकानी गरेका छन्। कुराकानीको संक्षिप्त सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ।
गीत धेरैले सुन्नु भएको होला तर तपाइको बारेमा कसैलाई थाहा नहुन सक्छ। को हो बिष्णु भट्ट ?
मेरो जन्म डोटीको केआईसिंह गाउँपालिका वडा न ६ मा भएको हो। स्नातक सम्मको पढाई डोटी क्याम्पसमा गरे र स्नातकोत्तर पढ्नका लागि काठमाडौं आएको हँु। काठमाडौ आएपछि संगीतका कक्षा लिन पनि सुरु गरे तर गायन क्षेत्रतिर भने मैले २०६० तिर नै प्रवेश गरिसकेको थिए। शास्त्रीय संगीतको औपचारिक सिकाईमा प्रवेश गरेको पनि लगभग १० वर्ष र्भसके छ। अहिले पनि गर्दै सिक्दै छु। गाउँदै गर्दा सिक्दै गर्दा शास्त्रीय संगीतसँगसँगै आधुनिक गजल तिर पनि म प्रवेश गर्न पुगे। यसरी नै यात्रा चलिरहेको छ।
देउडा गायक शास्त्रीय संगीततिर जानुभयो। अनि देउडा र शास्त्रीय गीतमा के फरक अनि के समानता पाउनु भयो त ?
संगीतको औपचारिक शिक्षा भनेको शास्त्रीय हो। जस्तैः लेखनमा रस्व, दीर्घ, मोटो ‘श’ पात्लो ‘स’भनेर हुन्छ अनि व्याकरणीय शुद्धता भन्ने पनि हुन्छ। त्यसरी नै शास्त्रीय संगीतमा पनि सुर के हो ? ताल के हो ? राग के हो ? गायकी के हो ? र, संगीतको नव रस के हो भन्ने आदि आदि विषयमा जानकारी पाउनु नै शास्त्रीय संगीतको अध्यन हो।
सामान्यतया देउडा गीत जसले पनि गाउँछ भनेर हो। नत्र देउडा गीत पनि रागमा नै आधारित छ। संगीत क्षेत्र गाह्रो नै क्षेत्र हो हरेक बिदा गाह्रो नै हुन्छन्। देउडा गीतको पनि गहिराईमा गएर ठाडी भाका सबैले गाउन सक्दैन र जुन लय जुन भावमा एउटा देउडा गायकले ठाडीभाका गाउन सक्छन् नि त्यति गहिरो भावमा एक ठूलो विद्वान गायकले पनि न गाउन सक्छ।
अहिलेको समयमा त देउडा गीतको लवजमा गीत गाउन सक्ने मान्छे नै म देख्दिन। मान्छेको मनसम्म पुग्नु मान्छेलाई आकर्षित गर्नुपर्ने विषय नै गाह्रो विषय हो लाग्छ मलाई। तुलनात्मक रुपमा सहज लाग्ने बिदाको कुरा गर्दा साधनापछि चाहिँ मलाई शास्त्रीय संगीतकै नशा लागिसकेको छ।
शास्त्रीय संगीत नै सहज लाग्छ। तर पनि डेउडा त मेरो रग–रगमा छ। सांगीतिक यात्रा नै डेउडा बाट सुरु गरे म देउडा गाउने प्रदेशको मान्छे भएर होला देउडाको मोह भने कम छैन।
पहिलो चोटी गीत निकाल्दाको अनुभुति र पछि गित बजारमा आएर चर्चा गर्दा अनुभुती कस्तो थियो ?
एसएलसी दिएर स्नातक तहमा पढ्दै थिए। त्यहिँ समयमा पहिलो गीत धनगढीबाट रेकर्ड गरे। चर्चित देउडा गायक नरेन्द्रराज रेग्मीको घरमा रहेको संगीत सौगात म्युजिक सेन्टर मेरो पहिलो रेकर्डिङ सेन्टर बन्यो। त्यस्तै नरेन्द्र सरले नै त्यति बेला धेरै सहयोग गर्नुभयो।
पहिलो गित निकाल्नु त रहर नै थियो तर रहरमै निकालेका गीत पनि हिट भए। पहिलो एल्बममा चार वटा गित थिए चार मध्येका चार नै हिट भए। त्यो समयमा धेरै रेडियो थिएन्न रेडियो नेपाल दिपायलबाट मात्रै प्रसारण हुन्थ्यो र सबैले सुन्ने भनेको नै रेडियो नेपाल थियो।
रेडियो नेपालमा मेरो एक न एक गीत नबजेको सायद दिन नै हुँदैन थियो। आफ्नो गीत रेडियोमा आफैले सुन्दा छुट्टै आनन्द आउथ्यो। साथी भाईहरुमा पनि छुट्टै छाप पारिसकेको थिए। पछि चर्चाकै बीचमा काठमाडौ आए बच्चा देखिको शास्त्रीय संगीतको मोहले होला यता आउने बित्तिकै स्नातकोत्तरसँगै संगीतको कक्षा पनि सुरु गरे। अहिलेसम्म पनि सिकिरहेको छु। संगीत यस्तो क्षेत्र रहेछ। अब त मेसो पाए भन्ने जस्तो हुन्छ तब त झन महासागर भेटिने।
तपाइले संगीतको यात्राको प्रारम्भमा परिवारिक सहयोग कस्तो थियो ?
सानोमा एल्बम निकाल्नु भन्दा पहिलाको कुरा राजाको जन्म उत्सवमा दोहोरी प्रतियोगिता हुन्थ्यो त्यो जितिसकेको थिए। ठुली दिदीहरुसँग भिड्नु पर्यो दोहोरीमा। यसबाट परिवारलाई प्रमाणीत गरिसकेको थिए। फेरि परिवारको पनि एउटा कुरा के थियो भने पढाई चाहिँ बिगार्नु हुदैन। नराम्रो न गर्नु जे गरे पनि हुन्छ।
संगीत क्षेत्रलाई अगाडि बढाउँदा हुन्छ भन्ने नै थियो। मैले पनि भनौंन स्नातकोत्तर सम्म पुग्दा राम्रै तरिकाले उत्तीर्ण गरेर आएको छु। यसले एउटा घरमा विश्वासको वातावरण बन्यो। अहिले पनि म सांगीतिक साधनाको अलावा प्राध्यापन पनि गर्छु। परिवारको सहयोग राम्रै बन्यो।
संगीत क्षेत्रबाट नै कमाएर खानसक्ने स्थिति देख्नुहुन्छ नेपाली संगीत बजारको ?
ठ्याक्कै छैन भन्ने अवस्था पनि छैन धेरैले गुजारा गरिरहेकै छन्। राम्रै कमाई रहेका पनि छन्। फेरि छ भन्न पनि धेरै स्थिति नाजुक नै देख्न पाइन्छ। जसले मिहिनेत गरेर पेसाको रुपमा अगाडि बढाईरहेका छन् उनीहरुको कमाई खाने स्थिती छ नै भन्नुपर्छ।
देउडा गीतलाई केही नयाँ गायक, गीतकारहरुले पूर्व तिर पनि सुनिने बनाउनु भयो यसलाई कसरी लिनुहुन्छ ?
अहिले गित पूर्वतिर अर्थात जतातिर पनि जानुको कारण धेरै मिडियाहरु, नयाँ मिडियाहरु हुनु हो। समाजिक संजाल हुनु हो। पुराना गित पूर्वतिर सुनिन्थेन भन्ने हुँदैन।
जस्तो राइझुमा गीत पछिल्लो समय आएर मात्रै किन भाइरल भए त भन्दा यहीँ मास मिडिया नै त हो। फेरि यो गित चल्यो भन्नू भन्दा पनि मात्रै हेरिएको मान्नुपर्छ किनकि चल्नु भन्या त खोजीखोजी सुन्नु अर्थात् केही गाउन सक्नुलाई बुझ्नु पर्यो नि।
फेरि पुरानो संस्कृतिका गीतहरु नै पुगेको भए एउटा कुरा हुन्छ। जस्तो ठाडीभाखा, पुरानो खेललगाउने भाखा उता पुग्यो भने चल्यो तर हम्रा तम्रा लगाउने बित्तिकै देउडा भइ हाल्ने होइन नि।
त्यो त संस्कृतिमाथिको प्रहार हो भन्ने लाग्छ। ताई न तुइ जहाँनिर पायो हाम्रा तम्रा जोडिदिएको छ। एउटा तप्काका मान्छे छन् जसले भाइरल कसरी बनाउने मात्रै सोचेर गीत निर्माण गरिरहेका छन्। देउडा भनिएको छ तर खासमा देउडा चलेको छैन के। जति पुराना संस्कृति बोकेका गीत छन् ती मिडियामा नै छैन युटुबमा छैन।
एउटा समय थियो ६३ भन्दा पहिलातिरको जति खेर देउडा गायक हुन्थ्ये देउडा गीत भेटिन्थे। अहिले त देउडा गायक नै देख्दिन देउडा गीत पनि देख्दिन। अहिले सुदूरपश्चिमबाट जति पनि गायक छन् नि फुर्ती न लाए हुन्छ के म देउडा गायक हु भनेर। कोही पुरानै भाखाहरु केही यताबाट चोर्यो केही उताबाट चोर्यो अनि गायक भन्यो।
खोइ त पुराना सर्जकहरुको मुल्यांकन खोइत उहाँहरुलाई सम्झेको खोइ त ? बिचरा कति स्रष्टाहरुका सिर्जना चोरी भएका छन् खोइ त उनीहरुले न्याय पाएको ? सम्बन्धित निकाय नै छैन यी गतिविधिमा ध्यान दिने कसरी हुन्छ। केही एउटा गीतबाट चोर्यो केही अर्को गितबाट चोर्यो अनि ती टुक्का मिलाएर आफ्नो गीत भनेर बजारमा ल्यायो यो कहाँ न्याय संगत भयो त ? पहिले जस्तो रेकर्डर, काट्छाट गर्ने साधन थिएनन् अनि बिचरा स्रष्टाहरुले दिमागमा याद गरेर कति मिहिनेत गरेर गीत निकाल्नु पथ्र्याे होला ?
पछिल्लो समय डोटेली संस्कृतिलाई ओझेल पारिएर अगाडि बढिएको छ। मसहित अहिलेको समयमा यो संस्कृति बचाउन योगदान गरिरहेका छौ भनेर चलिरहेका भनिएकाहरु सबैले नसोचे हुन्छ।
अनुसन्धान छैन खोज छैन यसरी संस्कृति जोगिन्छ र ? त्यो भएको हुनाले म चाहिँ यो निस्कर्षमा छु कि अहिले डोटेली संस्कृति जोगिनुभन्दा पनि विनाश भइरहेको अवस्थामा छ। अहिले देउडा भनिएका गीत चले पनि न चले पनि खासै केही छैन।
देउडाको त एउटा प्याट्रन छ नि खोइ त ती गीत आइरहेको ? अहिले चलेका पपदेउडा हुन बरु यो बिसयमा छिट्टै नामकरणको बहस चलाउ तर देउडा चलेको भनेर चाहिँ न भन्नौ। देउडा गित नै आई रहेका छैन्न।