सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साँघुरिँदै खोला नाला, बढ्दै डुबान

फोटो : दीपक बम योगेन्द्र
फोटो : दीपक बम योगेन्द्र
२०७८ असार २१, ०६:१८ कमल सावद

धनगढी : हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ। पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। क्षणभरको बर्षाले नै धनगढी डुबानमा पर्नुको मुख्य कारण भने खोलानालामाथिको अतिक्रमण नै हो।

०७२ सालमा धनगढी उपमहानगरपालिकाले डुबानको मुख्य कारण खोलानालामाथिको अतिक्रमण नै भएको निश्कर्ष निकाल्दै अतिक्रमण हटाउने अभियानको थालनी गरेको थियो। जस्ले अझै सार्थकता पाउन सकेको छैन्। बिशालनगर झनै डुबानमा पर्ने चिन्ता धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ बिशालनगर क्षेत्रमा डुबानको समस्या झन विकराल हुने चिन्ता गरिएको छ।

बिशालनगरका स्थानीयले वर्षातको पानी बग्ने नाला, कुलो तथा तालमा प्रत्येक वर्ष भौतिक संरचना निर्माण हुँदै गएपछि डुबानको समस्या विकराल हुने चिन्ता व्यक्त गरेका हुन्। स्थानीय यमनाथ सिक्देलले भने, “अहिले जहाँ बसेका छौ, यहाँ पनि नाला थियो, पहिले। नाला सबै मिचियो। नम्बरी जग्गा बनाइयो। व्यक्तिको नाममा दर्ता गरियो। त्यस्ले गर्दा अब निकास भएन। पानी जम्ने ठाउँमा भरान गरिएको छ। पानीको निकास रोकिएको छ।

अबको वर्षामा डुबानको समस्या झनै बढ्ने सम्भावना छ।।” धनगढी उप–महानगरपालिकामा सबैभन्दा बढी डुबान हुने क्षेत्र बिशालनगर हो। उप–महानगरपालिकाको वडा नम्बर ३ का मात्रै झण्डै ४ हजार ७२ घर वर्षातको समयमा डुबानमा पर्दै आएका छन्।

धनगढी नगर विकास समितिले बिशालनगर क्षेत्रका नाला तथा कुलोहरु बिक्रि गर्दै व्यक्तिको नाममा दर्ता गरेको छ। स्थानीय गणेशबहादुर सिँहले नगर विकास समितिले जग्गा बिक्री गरेकाले बिशालनगरमा डुबान हुँदै आएको बताए। “जति प्रयास गरेपनि बिशालनगरको पानी मोहनामा जाँदैन्। पूर्ततिर जाने हो। मोहनामा लगेर अर्थै छैन्,” उनले भने।

व्यक्तिगत संरचनासँगै सरकारले निर्माण गर्ने सडकले समेत बिशालनगरमा डुबानको समस्या देखिएको हो। उप–महानगरपालिकाले निर्माण गरेको स–साना सडक तथा मोहनापुल अत्तरिया ६ लेन सडकका कारण बिशालनगर डुबानमा पर्दै आएको उप–महानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरस्थित नेतुवा ताल क्षेत्रको १२ कट्टा जग्गा धनगढी नगर विकास समितिले २०६६ सालमा बिक्री गरेको थियो। उक्त ताल बिक्री भएपछि बिशालनगरमा पानी जम्मा गर्ने ठाउँ नहुँदा पनि डुबानको समस्या बढेको स्थानीयको बुझाई छ। “डुवानको समस्या एकदमै छ।

विद्युत अगाडिको कल्भर्ट थुनिएको छ। वडा नम्बर ३ को पानी वडा नम्बर २ हुँदै जाने हो। अब थुनिएको छ। विशालनगरमा अझै डुबान हुने देखिएको छ,” वडाध्यक्ष ऐरले भने।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस