सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मुक्तकमैयाको दुखेसोः ‘डुबान हुँदा बस्ती छोडेर भाडामा बस्नुपर्छ, कमैया भनेर हामीलाई हेप्छन्’

२०७८ असार २०, ०३:३७ विन्दु चन्द

धनगढी: वर्षातको मौसम सुरु भएसँगै धनगढी मनेहरास्थित मुक्तकमैया शिविरकी भागरथी चौधरी डराएकी छिन्। ‘आकाशमा बादल लाग्यो कि लामो झरी पर्ने चिन्ताले सताउँछ। भारी पानी पर्यो भने त बस्ने ठाउँ नै छैन। घरहरु पुरै डुब्छन्। अब वर्षा सुरु भयो भने कोठा भाडामा खोज्न जानुपर्छ’ लामो स्वास फेर्दै उनले भनिन्। 

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ स्थित मुक्तकमैया शिविरबस्तीकी चौधरीको सानो झुपडी छ। भारी वर्षातको समयमा उनको झुपडी डुबानमा पर्छ। जसकारण भागरथीको परिवार हरेक वर्ष वर्षातको समयमा बस्ती नै छाडेर भाडाको घरमा बस्न बाध्य हुन्छन्। चौधरी भन्छिन्, ‘वर्षा आउने बित्तिकै भागेर जान्छौँ। घर भाडामा लिनुपर्छ। कसैले त १/२ महिनाका लागि भाडामा पनि दिदैनन्। धेरै समस्या हुन्छ।’ 

मुक्तकमैया शिविर बस्तीवासी हरेक वर्ष डुवानमा पर्दै आएका छन्। पानी निकास हुने नाली र कल्भर्ट नहुँदा उनीहरु डुबानमा पर्दै आएका हुन्। उक्त शिविरमा धेरैजसो माटोका कच्ची घरहरु छन्। वर्षाले घरको पुरै माटो पखालेर लैजाने गरेको छ। ‘कहिँ पनि पानी जाने निकास छैन। घरको छतसम्मै पानी पुग्छ। डुबान हुँदा बस्ती नै छोडेर जानुपर्ने अवस्था आउँछ’ अर्की स्थानीय आशा चौधरीले भनिन्। 

पानी निकासका लागि पटक–पटक वडा र उपमहानरपालिकालाई आग्रह गर्दा पनि वास्ता नगरेको उनीहरुको गुनासो छ। ‘कतिपटक उपमहानगरपालिकासँग भनिसक्यौँ पानी निकास हुने नाली बनाइदिनु भनेर तर कसैले वास्तै गर्दैनन्। नाली बनाइदिए हामी डुबानमा पर्दैनथ्र्यौ’ अर्का स्थानीय कृष्ण चौधरीले दुखेसो गरे। 

यस्तै आफूहरुलाई मुक्तकमैया भनेर हेप्ने गरेको उनीहरुको दुखेसो छ। ‘पानी निकासका लागि कुलो निर्माण गरिदिन पटक–पटक आग्रह गर्छौ तर हामीलाई हेपिन्छ। कमैया भनेर हेला गर्छन्, हेप्छन्। कसैले पनि वास्ता गर्दैनन्’ चौधरीले मलिलो स्वरमा भने। 

अन्य ठाउँमा नाली निर्माणका कामहरु फटाफट भइरहेको भएपनि आफुहरुलाई कसैले नहेरेको आशा चौधरीले बताउँछिन्। 

उनीहरु विगत १० वर्षदेखि उक्त शिविरमा बस्दै आएका छन्। उनीहरु  ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन्। उक्त शिविरमा ४ सय बढी घरहरु डुबानमा पर्ने गरेको उनीहरुले बताएका छन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस