सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर र गड्डाचौकी नाका भएर नेपाल फर्किनेभन्दा भारत जानेको संख्या तीन गुणा बढी

२०७८ असार २०, १०:०६ खबर संवाददाता

धनगढी: पश्चिम नेपालको त्रिनगर र गड्डाचौकी नाका भएर नेपाल फर्किनेभन्दा भारत तीन गुणा बढी जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको संख्या बढेको हो।

असार १ गतेदेखि १८ गतेसम्मको तथ्यांकअनुसार भारतबाट नेपाल फर्किने ७ हजार ७ सय ४४ जना रहेकोमा त्यसको तीन गुणाले बढी २२ हजार ३७ जना गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत पसेका छन्।

नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि नेपालीहरू भारत जान थालेका हुन्।

प्रदेशका दुई नाका भएर मात्रै दैनिक १ हजार भन्दा बढी नेपाली मुग्लान गइरहेका छन्। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तीनै तहका सरकार भने असफल भएका छन्। प्रदेशवासीको स्वदेशमै रोजगारी गर्ने सपना पुरा गर्नका लागि नीति–निर्माण गर्ने क्षेत्रमा पुगेकाहरुले चासो नदिएको गुनासो उनीहरुको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफु मुख्यमन्त्रीमा नियुक्त भएकै बेला कामका लागि प्रदेशवासीले भारत जानुपर्ने बाध्यताको अन्त्य हुने घोषणा गरेका थिए। तर उनको कार्यकालको तीन वर्ष पुरा हुँदा पनि स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन। 

कमेन्ट लोड गर्नुस