दार्चुलामा जारी निषेधाज्ञा असार मसान्तसम्म थप्ने तयारी
धनगढी: दार्चुलामा जारी निषेधाज्ञा असार मसान्तसम्म थप गरिने भएको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि असार मसान्तसम्मकै लागि निषेधाज्ञा थप्न अनुरोध गरेको हो। यसअघि जारी गरिएको निषेधाज्ञा अवधि आइतबार (आज) सकिँदै छ। समितिको शुक्रबार बसेको बैठकले केही खुकुलो पार्दै निषेधाज्ञा अवधि असार मसान्तसम्म थप्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
अब फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी/कपडा, निर्माण सामग्रीका पसल विहान ६ देखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ। सवारी साधन पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सिट क्षमता अनुसार यात्रु राखेर सञ्चालन गर्न पाइने जनाइएको छ।
जिल्लामा गत बैशाख २५ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। यो सहित गरेर छैटौँ पटक निषेधाज्ञाको अवधि थपिन लागेको बताइएको छ।