सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने अघोषित लोडसेडिङले इन्भर्टरको व्यापार बढ्यो

२०७८ असार १९, ०५:३० सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनियमित विद्युत कटौती हुन थालेसँगै इन्भर्टर, ब्याट्री र सोलारको बिक्री वितरणमा केही वृद्धि भएको पाइएको छ। लोड सेडिङ हटेपछि सुस्ताएको इन्भर्टर, ब्याट्री र सोलारको व्यापार पुनः फस्टाउन थालेको व्यापारीहरू बताउँछन्। 

पछिल्ला समय धनगढीमा पटक–पटक बत्ती जान थालेपछि स्थानीयहरू घर–घरमा इन्भर्टर, ब्याट्री र सोलार जडान गर्न थालेका छन्। धनगढीमा तापक्रम अत्यधिक बढ्नु र विद्युत कटौती हुने क्रमसमेत बढ्नाले व्यापार फस्टाएको व्यापारीहरू बताउँछन्। 

धनगढी बजारमा रहेको ओम प्रकाश मोबाइल ग्यालेरीका सञ्चालक शिवराज उपाध्यायले लोड सेडिङ्गको बेला जस्तो कारोबार नभएपनि अहिले इन्भर्टर, ब्याट्री र सोलारको व्यापार केही बढेको बताए। लोड सेडिङ्गको बेला उनको पसलबाट दैनिक २/३ वटा इन्भर्टर बिक्री हुने गरेको थियो। अहिले महिनामा ८÷१० वटाका दरले बिक्री भइरहेको उनले बताए। ‘परार साल ६०/७० वटा इन्भर्टर बेचेका थियौँ। पोहोर ३० वटा बेचिएकोमा यस वर्ष अहिलेसम्म २१ वटा इन्भर्टर बेचिसकेका छौँ’ उनले भने।  

पछिल्लो समय लोड सेडिङ्ग अन्त्य भएपनि अघोषित रूपमा विद्युत जाने गरेको छ। धनगढीमा त आकासमा बादल लाग्दा र हावाहुरी सुरू हुँदा बिजुली गइहाल्ने समस्या छ।  रातिको समयमा विद्युत अवरुद्ध भएपछि दोस्रो दिनमात्रै मर्मत हुने गरेको छ। त्यसैले चर्को गर्मीबाट बच्न इन्भर्टर, ब्याट्री लगायतको बिक्रीसमेत बढेको बताइएको छ।  

इलेक्ट्रोनिक्स डिलर एसोसियसन धनगढीका अध्यक्ष टेकराज पनेरूले इन्भर्टर जडान गरिसकेकाहरूले ब्याट्री बिग्रिएपछि नयाँ ब्याट्री हाल्ने क्रम बढेकाले नयाँ ब्याट्रीको बिक्रीसमेत बढेको बताए।

यता नेपाल विद्युत प्राधिकरणले भने, हावाहुरीका कारण सव–स्टेशनमा समस्या आएपछि विद्युत अनियमित हुने गरेको बताउँदै आएको छ।  नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जगदिश जोशीले सव–स्टेशनमा समस्या आएपछि विद्युत आपूर्तिमा समस्या आएको बताए।

‘अस्तीको हावाहुरीले सव–स्टेशनमा समस्या आएपछि विद्युत आपूर्तिमा समस्या भएको छ’ उनले भने, ‘केही दिनमा समस्या समाधान हुन्छ। मागअनुसारको नियमित आपूर्ति भइरहेको छ।’ 

कोरोना महामारीले अहिले विद्यालयहरूमा भौतिक उपस्थिती बिना अनलाइन कक्षाका माध्यमबाट पठनपाठन भइरहेको छ। अहिलेको अनियमित विद्युत कटौतीले सबैभन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन्।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस