सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पत्रकार जेपी जोशी हत्या प्रकरणको १३ वर्ष, गर्भमै छ रहस्य

२०७८ असार १९, ०३:१५ खबर संवाददाता

धनगढी: कैलालीका पत्रकार जेपी जोशी बेपत्ता हुँदा उनकी कान्छी छोरी गीता ८ महिना र जेठी छोरी पूजा तीन बर्षकी थिइन।

अहिले ७ मा अध्ययनरत गीता १३ र १० मा अध्ययनरत पूजा १६ बर्षकी भइन्। गीता र पूजालाई कसैले बुवाको बारेमा प्रश्न गर्दा उनीहरुसँग अहिले पनि जवाफ छैन्। जेठी छोरी पूजा भन्छिन्, ‘न्यायका लागि पर्खिएको १३ बर्ष पुग्नै लाग्दासमेत कसैले बुवालाई के भएको हो ? भनेर प्रश्न गर्दा हामीसंग जवाफ हुँदैन्।’

तत्कालीन समयमा जनादेश साप्ताहिक र जनदिशा दैनिकमा कार्यरत जोशी २०६५ असोज २२ गते अत्तरिया बजारबाटै बेपत्ता भएका थिए। बेपत्ता भएको दुई महिनापछि ०६५ मंसिर १३ गते घरनजिकैको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको जंगलमा कंकाल र हड्डी भेटिएको थियो। कंकालसँगै मोबाइल तथा परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो।

पत्रकार जोशीकी श्रीमती बसन्तीलाई पनि न्याय पाउने आशा कमजोर बन्दै गएको छ। ‘असोजमा त बेपत्ता भएको पनि १३ बर्ष पुग्छ। अझै न्याय पाएकी छैन। न्यायका लागि कहिलेसम्म पर्खिनुपर्ने हो, थाहा छैन्।’ पतिको मृत्युपछि छानबिनका लागि विभिन्न आयोग तथा छानबिन समितिसमेत बने पनि अहिलेसम्म न्याय पाउन नसकेको उनी बताउँछिन।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो। समितिले पत्रकार जोशीको हत्या भएको स्वीकार गरे पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको छैन्।

समितिले २०६६ सालमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक पनि गरिएको छैन्। पत्रकार महासंघ कैलालीका तत्कालिन अध्यक्ष दीर्घराज उपाध्यायका अनुसार जोशीको हत्यामा संग्लनलाई कारवाहीका लागि देशभरी नै संघर्षका कार्यक्रम भएका थिए।

‘तत्कालीन समयमा जेपी पत्नी बसन्तीले घटनालगत्तै स्थानीय प्रहरीमा दुई जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्’ उपाध्यायले भने, ‘घटनामा आरोपित दुवैजनाले सफाइ पाएका थिए। पत्रकार महासंघले न्यायका लागि संघर्ष गरेपनि अदालतले नै सफाई दिएपछि समस्या भएको हो।’ १३ बर्ष पूरानो घटना भएकाले उक्त घटनाबारे कैलाली र प्रदेश प्रहरीका अधिकारी भने अनभिज्ञ छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय भने पत्रकार जोशीको हत्या घटना फौजदारी मुद्दाअन्तर्गत रहेको बताउँछन्। 

पतिको हत्यापछि बसन्तीले भैंसी पालेर घरखर्च चलाउँदै आएकी छिन्। ‘अहिलेसम्म पत्रकार महासंघले छोरीहरूको पढाइका लागि भन्दै छात्रवृत्ति दिँदै आएकाले धेरै राहत महसुस भएको थियो,’ उनी भन्छिन्, ‘अब जेठी छोरी यसै बर्ष ११ मा भर्ना हुँदैछ। कानुन विषय लिएर पढ्छु भन्छे। कसरी पढाउने होला भनेर चिन्ता लागिरहेको छ।’

यता पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी भने स्वर्गीय पत्रकार जोशीका छोरीको अध्यनका लागि महासंघले सहयोग गर्ने बताउँछन्।

कमेन्ट लोड गर्नुस