सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड मालिका यातायातको विवाद अदालत पुग्यो

२०७८ असार १८, ०५:५५

वीरेन्द्र भट्ट, धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको खप्तड मालिका यातायात प्रालिको विवाद अदालतसम्म पुगेको छ। ४८ लाख रुपैयाँ शेयर सदस्यहरुको नाममा जम्मा भयो भनेर कागजी रुपमा मात्र देखाउने काम भएको भन्दै खप्तड मालिका यातायात प्रालिका शेयर सदस्यको नाममा आर्थिक अनियमितताको मुद्दा जिल्ला अदालत कैलालीमा दायर गरिएको हो।

संस्थाको नाममा रहेको साढे ११ लाख रुपैयाँ पदाधिकारीले खाएको आरोप लगाउँदै खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले भने, ‘मेरो अध्यक्षता रहेको झुटो विवरण पेश गरेर ४८ लाख रुपैयाँ कागजी रुपमा देखाएर झुक्याउने काम भएको छ।’ 

झुटो विवरण बनाएर ४८ लाख रुपैयाँ देखाइएकोमा त्यो रकम यथार्थमा कहिकतै नदेखिएकाले संस्थाका शेयर सदस्यहरुको नाममा मुद्दा दायर गरेको उनले बताए। खप्तड मालिका यातायात प्रालिबाट ठूलो व्यसायीहरुको समूहले अलग्गै खप्तड प्रालि दर्ता गरेपछि नयाँ दर्ता भएको खप्तड प्रालि पञ्चीकरणका लागि पनि विवाद बढेको छ। उक्त संस्था पञ्चीकरणका लागि यातायात कार्यालय हुँदै जिल्ला प्रशासनसम्म दौडधुप हुन थालेको छ। पञ्चीकरणका लागि खप्तड मालिका यातायातले सहमति नदिएपछि विवाद समाधानका लागि यातायात कार्यालय कैलालीले समस्या समाधानका लागि विभागमा पत्र पठाएको गरेको हो। 

०७५ सालमा खप्तड मालिका यातायात प्रालि स्थापना भएको थियो। प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई जानकारी नदिएरै सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद बढेको थियो। सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुबीच साधारणसभाको विषयलाई लिएर द्वन्द सिर्जना भएको थियो। प्रालिका निवर्तमान अध्यक्ष जोशीले संस्था स्थापना भएदेखि नै सम्पुर्ण अभिलेखहरु घरमा लुकाउने गरेको खप्तड मालिका प्रालिको आरोप छ।

हिसाबकिताब आफैसँग राखेर निवर्तमान अध्यक्ष आफैले छुट्टै प्रालि दर्ता गराउने, आफैले सम्पूर्ण हिसाब किताब राख्ने र आफैले मुद्दा समेत दायर गर्ने विषय प्रालिको ऐन नियम विपरित भएको भन्दै खप्तड मालिका यातायात प्रालिले पञ्चीकरण दिन मानेको छैन्। खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला निवर्तमान अध्यक्ष जोशीले माइन्युट नै घरमा लुकाएर राखेको आरोप लगाए। निवर्तमान अध्यक्ष हुँदाहुँदै अर्को प्रालि खोलेर ऐन विपरित चलेको बताउँदै उनले एक वर्षयता दर्ता भएका गाडीको मात्र पञ्चीकरण दिन सकिने बताए। 

ठुलो यातायात व्यसायीहरुको समुह आफुसँग भएको भन्दै जोशीले हाल नयाँ खप्तड यातायात प्रालि दर्ता गराएका हुन्। तर प्रालि दर्ता भएपनि पञ्चीकरणका लागि खोलौला र यातायात कार्यालय कैलालीले सहयोग नगरेको भन्दै सो समूह यतिबेला यातायात कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको हो। दुई व्यवसायीको विवादका कारण समस्या समाधान गर्न असहज भएको बताउँछन् यातायात कार्यालय कैलालीका निमिक्त कार्यालय प्रमुख लक्ष्मण शाह। ‘दुवै पक्षलाई बोलाएर समस्या समाधानको प्रयास गरेपनि कुनै सहमति नभएपछि समस्या समाधानका लागि विभागमा पत्राचार गर्नु परेको हो,’ शाहले भने। यातायात व्यवसायीहरुको ठूलो समूहसहित ५९ गाडी खप्तड यातायात प्रालिसँग रहेको दाबी गरिएको छ। खप्तड मालिकासंग ७÷८ वटा गाडी मात्र रहेको प्रालिले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस