सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोलानालाको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्ष, मेयर भन्छन्–डोजर लगाउछौँ

२०७८ असार १७, ०७:१८ नारायण अवस्थी

धनगढी: धनगढीमा खोलानालाको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्ष पूरा भएको छ। स्थानीय तहको निर्वाचन अगाडि धनगढी डुबानको मुख्य कारण खोलानालामाथिको अतिक्रमण नै भएको निश्कर्ष निकाल्दै २०७२ सालमा रामलाल श्रेष्ठ कार्यकारी अधिकृत हुँदा अतिक्रमण हटाउने निर्णय भएको थियो।

उक्त निर्णयपछि तत्कालिन राजनीतिक संयन्त्रको समन्वयमा धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउ अभियानको थालनी ग¥यो। २०७२ सालमै कैलाली खोलामा अतिक्रमण गरिएको क्षेत्रको रेखांकन भने गरिएको थियो। तर जनप्रतिनिधि आएपछि उक्त अभियानले निरन्तरता पाउन सकेन।

हुन त जनप्रतिनिधि आएपछि बसेको पहिलो नगरकार्यपालिका बैठकले पनि अतिक्रमण हटाउने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नहुँदा नगरभित्रका खोला झनै निशानामा परेका छन्। यो अवधिमा पटकपटक गठन भएका समिति र उपसमितिले पनि अतिक्रमण क्षेत्र खाली गर्न नसक्दा धनगढीमा डुबानको समस्या विकराल बन्दै गएको छ।

तर अतिक्रमण हटाउन विभिन्न चरणमा समिति गठन भएर काम भएको उपमहानगरले बताउने गरेको छ। हालसम्म वडा नम्बर ४ र ५ मा पर्ने सुकुटी नालाको मोहनादेखि हसनपुरको सामुदायिक प्रहरीसम्मको भागमा ३७ जनाले खोला अतिक्रमण गरेको अध्ययन प्रतिवेदन तयार भएको खोलानाला अतिक्रमण छानविन उप–समितिका संयोजक तथा वडा नम्वर ८ का अध्यक्ष नारायण बरालले बताए।

‘हामीले मोहना नदीदेखि हसनपुरको सामुदायिक प्रहरीसम्म पहिलो चरणमा अध्ययन गरेर २७ ठाउँमा अतिक्रमण भएको प्रतिवेदन मेयर साबलाई बुझाएका छौँ, बरालले दिनेशखवरलाई भने, ‘पहिलो चरणमा अध्ययन गरेको प्रतिवेदन कार्यान्वयन भएपछि अन्य ठाउँको पनि अध्ययन गरेर अतिक्रमण हटाउने योजना उपमहानगरपालिकाको छ।’

तर धनगढी उप–महानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउन आनाकानी गरेको  आरोप उपमहानगरवासीको छ। विगतमा नगर विकास समितिले व्यक्तिलाई बिक्री गरेको खोलामै संरचना निर्माण गर्न उप–महानगरपालिकाले नक्सा पास गरिदिएको छ। पानी निकासका लागि उपमहानगरमा रहेका प्राकृतिक कुलोे र नालामा पनि घर निर्माणका लागि नक्सा पास गरेको छ।

हुन त नगरको भवन निर्माण तथा योजना मापदण्ड २०७४ अनुुसार खोलानालाको किनारबाट १० मिटर छोडेर मात्रै व्यक्तिगत संरचना निर्माण गनुपर्ने हो। तर खोलानालामै पक्की संरचना बनाउन उपमहानगरले नै नक्सा पास गरिदिएको आरोप लाग्ने गरेको छ।

खोलाको क्षेत्रबाहेक सेटब्याकसमेत छोड्पर्ने मापदण्ड बनाएको उपमहानगरपालिकाले खोलामै घर बनाउन नक्सा पास गरिदिएपछि अहिले धनगढी क्षणभरकै पानीमा डुब्ने गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने खोलानालाको किनारबाट १० मिटर छोडेर मात्रै भौतिक संरचना बनाउन पाउने मापदण्ड बनाएको दाबी गरे। 

मेयर भन्छन्–डोजर लगाउछौँ
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले असोजमा अतिक्रण हटाउन सूचना जारी गर्ने बताए। ‘सुरुमा अतिक्रमण हटाउनका लागि सूचना जारी गर्छाै। आनाकानी भए डोजर लगाएर पनि अतिक्रमित क्षेत्र खाली गर्छाै,’ उनले भने।

मेयर वडले मोहनापुल–अत्तरिया ६ लेन सडकमा डोजर लगाएर भौतिक संरचना भत्काएको स्मरण गराउँदै खोलानालाको अतिक्रमण हटाउनका लागि पनि डोजर चलाउने दाबी गरे। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस