सुदूरपश्चिममा कोरोना बीमा गराएकाहरुलाई भुक्तानी पाउनै मुस्किल

धनगढीः अछामको मंगलसैन नगरपालिका–६ का पवन भण्डारीले सगरमाथा इन्सोरेन्स कम्पनीमा कोरोना बीमा गरेका छन्। मंसिर १३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनले पटक–पटक कार्यालय धाउदासमेत रकम भुक्तानी पाएका छैनन्।
पुसमा माग दाबी गरेका उनलाई कम्पनीले अझै बीमा रकम भुक्तानी दिएको छैन। बीमा कम्पनीले मागेनुसारको कागजपत्र बुझाउँदासमेत रकम भुक्तानी नदिएको गुनासो उनको छ। ‘कोरोनाको रिपोर्टसहित मैले कागपत्र सबै दिएको छु। तर पैसा पाएको छैन’ उनले भने, ‘धेरै पटक अफिसमा गएँ। फोन गरे। बैँकमा जम्मा हुँदैछ भन्छन्। र्भसक्यो भन्छन्। तर भएको छैन।’
यस्तै बैतडीको पुर्चौडी नगरपालिका–८ का दिपेन्द्र धामीले गत वर्षको असार पहिलो हप्तामा यूनाईटेड कम्पनीमा कोरोना बीमा गरेका थिए। वैशाख ११ गते उनको ४ जनाको परिवारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। तर दिपेन्द्रको परिवारले कोरोना बीमावाफतको रकम अझै पाएको छैनन्।
बैतडीबाट धनगढी आएर कोरोना बीमाको रकम दाबी गर्दा समेत नपाएको उनले बताए। ‘लकडाउनका बेलासमेत म धनगढी गए। बीमा दाबीका लागि कागजपत्र बुझाए। तर अझै रकम पाएको छैन’ उनी भन्छन्, ‘सुरुमा त उहाँहरुले फाइल समेत लिन मान्नु भएन्। बैतडीबाट आएको भनेपछि फाइल लिनुभयो। काठमाडौं पठाउनु भयोकी भएन, केही थाहा छैन।’
यसरी बीमा कम्पनीहरुले झुक्याउने गरेको बिमितहरुको गुनासो छ। निषेधाज्ञाको कारण देखाउँदै कम्पनीका कर्मचारीहरुले दुःख दिने गरेका उनीहरुको गुनासो छ।
सुदूरपश्चिम प्रदेशमा २० बीमा कम्पनीले कोराना बीमा गरेका थिए। तर अधिकांश बीमा कम्पनीहरुले भुक्तानी दिएका छैनन्। तर कम्पनीहरुले भने पहिलो चरणको कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई भुक्तानी दिएकोे बताएका छन्। दोस्रो चरणको कोरोना संक्रमण पुष्टि भएकाहरुलाई क्रमिक रुपमा बीमा रकम भुक्तानी दिँदै आएको सगरमाथा इन्सोरेन्स धनगढीका प्रमुख हेमन्त लामिछानेले बताए।
उनले भने, ‘पहिलो चरणको कोरोनाका बिमितहरुलाई रकम दिएका छौ। दोस्रो चरणका संक्रमितका फाइलहरु संकलन हुँदैछन्। केहीलाई रकम दिएका पनि छौ। सबैलाई दिन्छौ।’

