सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानी जमरा कुलरिया सिंचाई आयोजनाको निर्माण सुस्त, १२ वर्षमा ५१ प्रतिशत प्रगती

२०७८ असार १६, ०५:५४ रोशन भट्ट

धनगढी :  राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। 

आर्थिक वर्ष २०७३-०७४ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित २०६६ सालदेखि काम सुरु गरिएको आयोजनाको काम सुस्त गतिमा भइरहेको हो। 

काम सुरु भएको १२ वर्षसम्म आयोजना अन्तरगत निर्माण भइरहेका कुनै पनि भौतिक संरचनाले पूर्णता पाउन सकेका छैनन्। भने हाल सम्मको जम्मा प्रगती पनि ५१ प्रतिशत मात्रै पुगेको छ। 

चालु आर्थिक वर्षमा पनि २ अर्ब १२ करोड बजेट खर्च गर्ने उद्देश्य राखेको आयोजना कार्यालय जेठसम्म १ अर्व मात्रै बजेट खर्च गर्न सफल भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख जगतप्रसाद भट्टले बताए। ‘असारको तथ्याङ्क आउन बाँकी छ,’ उनले भने, ‘प्रगती केही बढ्न पनि सक्छ, यस्तै रहन पनि सक्छ।’

३८ हजार हेक्टर जमिनामा सिंचाई सुविधा पु¥याउने लक्ष्यसहित निर्माण सुरु भएको रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तरगत जलविद्युत, नदी नियन्त्रण लगायत अन्य भौतिक संरचनाको निर्माण कार्य पनि भइरहेको छ। तर निर्धारित समयमा आधा पनि भौतिक प्रगती गर्न नसकेको आयोजनाले ५ वर्ष बढी समय बित्दा पनि गति लिन नसकेको हो।

कोरोनाको महामारीका कारण यस वर्ष कार्य प्रगती राम्रो नदेखिएको आयोजना कार्यालयका सूचना अधिकारी प्रेम लासिवाले बताए। ‘कोरोनाको कारण हामीले कामदार पाएनौं,’ उनले भने, ‘केही ठेक्काहरुको पनि अवधी बढाउन ढिलाइ भएको छ।’

गत आर्थिक वर्षसम्म आयोजनाको भौतिक प्रगती ४८ प्रतिशत पुगेको थियो। चालू वर्षमा भने तीन प्रतिशतले बढेर ५१ प्रतिशत मात्रै पुगेको छ। गत वर्षदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण निर्माण कार्यले गति लिन नसकेको दावी गरिएको छ। 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रानी जमराको काम सम्पन्न भए यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वस लिइएको छ। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस