सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालिकोटमा चिस्यान केन्द्र

। फोटो स्रोत ।
२०७८ असार १५, ०५:५८ रासस

कालिकोट: कालिकोटको खाँडाचक्र नगरपालिका–१ को मान्ममा फलफूल तथा तरकारी चिस्याउन चिस्यान केन्द्र सञ्चालनमा आएको छ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटको अनुदानमा हिमचुली कृषि सहकारी संस्था र जेकेतरकारी तथा फलफूल केन्द्र खाँडाचक्र कालिकोटको संयुक्त साझेदारीमा चिस्यान केन्द्र सञ्चालनमा आएको हो।

विषेश गरेर कालिकोटमा पाइने स्याउ र तरकारी चिस्याउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ।

कृषि विकास कार्यालय कालिकोटको रु ४० लाख (५० प्रतिशत) अनुदान उपलब्ध गराएको र हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्रको ४० लाख (५० प्रतिशत) रकममा चिस्यान केन्द्रको निर्माण गरिएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताए।

“कार्यालय र सहकारीको बराबरी साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो”, उनले भने।” जिल्लामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेकामा अबका दिनमा लामो समयसम्म चिस्यान केन्द्रमा भण्डारण गर्न सजिलो हुने प्रमुख बस्नेतले बताए।

“बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेको थियो”, उनले भने, “अब यहाँ भण्डारण भएपछि लामो समयपछि पनि बिक्री गर्न पाइन्छ।”

कालिकोटमा उत्पादन हुने स्याउ, सुन्तला, तरकारीजस्ता वस्तु बेमौसममा पनि बिक्री वितरण गर्न सकिने जिल्लामा पहिलो पटक चिस्यान केन्द्र सञ्चालन आएको प्रमुख बस्नेतले जानकारी दिए।

कालिकोटमा विद्युत् पुगिसकेकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सहज हुने जेके फलफूल तथा तरकारी सङ्कलन केन्द्रका सञ्चालक युवराज थापाले बताए। “कालिकोटमा विद्युत् लाइन नहुँदा बेमौसमी तरकारी तथा फलफूल भण्डारण गर्नका लागि अप्ठ्यारो थियो। समयमा बिक्री नहुँदा किसान मारमा पर्ने गरेका थिए”, उहाँले भन्नुभयो, “कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारी तथा फलफूल खेर जाने छैन।” 

कमेन्ट लोड गर्नुस