सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा फेरि लम्बियो निषेधाज्ञा

२०७८ असार १५, १२:५२ खबर संवाददाता

डडेल्धुराः कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै थप १० दिनका लागि थपिएको छ।  

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

थप खुकुलो पार्दै असार १५ देखि २५ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिएका छन्। अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्।

निषेधाज्ञाको समयमा सबै सवारी साधन जिल्लाभित्र जोर विजोर प्रणालीमा चल्ने र बाहिर जाँदा अनुमति लिनु पर्ने प्रशासनले जनाएको छ। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिएका छन्। यस्तै अब बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। 

स्वास्थ्य मापदण्डको पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउन फेन्सि, फर्निचर, भाँडा वर्तन पसललगायत अन्य पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ। साथै सो समयमा होटल र रेस्टुरेन्ट ‘टेकअवे’ सेवा दिन सक्ने भएका छन्।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।
 

कमेन्ट लोड गर्नुस