सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भूमिसम्बन्धी समस्या समाधान आयोगले थाल्यो जग्गा नापी

२०७८ असार १५, १२:२७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा जग्गा नापी कार्य सुरु भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले जग्गा नापी कार्य सुरु गरेको हो। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापी कार्य सोमबारदेखि सुरु गरेको जनाइएको छ। आयोगले कृष्णपुर नगरपालिकामा जिपिएस प्वाइन्ट राखेर जग्गा नापी सुरु गरेको छ।

जग्गाधनी पूर्जा वितरणका लागि भूमि आयोग र स्थानीय तहबीच जग्गा धनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ मा जिल्लाका नौ वटा स्थानीय तहमध्ये पहिलो सम्झौता कृष्णपुरसँग भएको थियो। उक्त सम्झौता अनुसार नगर प्रमुख कर्णबहादुर हमालले जिपिएस प्वाइन्ट राख्ने कार्यको कार्यालय परिसरमै शुभारम्भ गर्दै पाँच दशकअघिको जग्गासम्बन्धीको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘तीन पुस्तासम्म चलन भोग गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन्। यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता छ।’

यस्तै भूमिसम्बन्धी समस्या समाधान अयोगका जिल्ला अध्यक्ष कमला बोहराले पनि गैरसुकुम्बासीलाई जग्गा नदिइने उल्लेख गर्दै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
कृष्णपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १५ हजार ३०४ जनाको लगत संकलन गरिएको छ। जसमध्ये भूमिहीन दलित ५७ जना, सुकुम्बासी १३६ जना र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जना रहेका छन्।

कञ्चनपुरमा हाल सम्म तीन हजार १५१ जना भूमिहीन दलित र सुकुमबासीले बसोवासका लागि फाराम भरेका छन्। भने ४९ हजार २४ अव्यवस्थित बसोवासी र आयोगको जिल्ला स्थित कार्यालयबाट ६ हजार चार सय १७ जना जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन्। 

कमेन्ट लोड गर्नुस