सुदूर नेपाललाई विश्वसँग जोड्दै

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, अर्जेन्टिना समूह विजेता

२०७८ असार १५, ०८:२३ खबर संवाददाता

काठमाडौंः कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४–१ ले पराजित गरेको छ। यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ। ब्राजिलको एरेना पान्तानालमा भएको खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे। बोलिभियासँग खल्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान समेत बनाए।

बोलिभियाविरुद्ध मेसीले सर्वाधिक १४८औं खेल खेलेका हुन्। सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोलसमेत गरेका छन्। यसअघि उनले ज्याभिएर मास्केरानोसंगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए।

खेलको छैटौं मिनेटमै मेस्सीको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे। ४२औं मिनेटमा मेस्सील सर्जियो अगुएरोको पासमा गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–० को अग्रता बनायो।

दोस्रो हाफमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले एक गोल थपे। उनले ६५औं मिनेटमा गोल गरेका थिए। बोलिभयाका लागि एर्विन साभेद्राले ६०औं मिनेटमा एक गोल गरे। अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरसँग जुलाई ३ मा खेल्नेछ।

कमेन्ट लोड गर्नुस