सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बासिन्दा फ्लोर मिल र एग्रो उद्योगको प्रदुषणबाट हैरान

२०७८ असार १५, ०६:१९ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ४ र १३ का बासिन्दा वर्षौँदेखि ठाकुर एग्रो उद्योग र गोदावरी फ्लोर मिलको प्रदुषणले हैरान भएका छन्। 

ठाकुर एग्रो र गोदावरी फ्लोर मिलबाट निस्केको धुलो, धुँवा र बिकार पदार्थले वडा नम्बर ४ र १३ का भगवती टोल, सुर्योदय टोल र सुन्दरीमाई टोल प्रत्यक्ष रूपमा प्रभावित भएका हुन्।

ठाकुर एग्रो उद्योग र गोदावरी फ्लोर मिलबाट निस्केको धुलो, धुँवा र बिकार पदार्थले रुघाखोकी जस्ता विभिन्न रोगको समस्या देखिने गरेको स्थानीयको भनाई छ। 

सुन्दरीमाई टोल विकास समितिकी अध्यक्ष धनादेवी विष्टले ठाकुर एग्रो उद्योग र गोदावरी फ्लोर मिलबाट निस्केको धुलो, धुँवा र बिकार पदार्थले रुघाखोकी जस्ता विभिन्न रोगको समस्या देखिन थालेको बताइन्।

’उद्योगबाट निस्केको धुँवा, धुलो र भुसाले धेरै समस्या भएको छ।’ उनले भनिन्, ’प्रदुषण नियन्त्रणका लागि सम्बन्धित निकायलाई पटकपटक आग्रह गरिएपनि बेवास्ता गरिएको छ।’ 

ऐनअनुसार वातावरणीय प्रभावको न्यूनीकरण गरे-नगरेको सम्बन्धमा उद्योग दर्ता गर्ने निकायले आवश्यकताअनुसार अनुगमन गरि निर्देशन दिने, कारबाही गर्न वा कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाउन सक्नेछ भनिएको छ। 

वडा नम्बर ४ का स्थानीय इन्द्रबहादुर सिंहले प्रदूषण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा निवेदन दर्तासमेत गरिएको बताए। तर कुनै पनि निकायले सुनुवाई नगरेको उनको गुनासो छ। 

औद्योगिक व्यवसाय ऐन, २०७६ मा उद्योग सञ्चानलका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकूल वातावरणीय असरको न्यूनीकरण गर्ने जिम्मेवारी सम्बन्धित उद्योगको हुनेछ भनेर प्रस्ट रूपमा लेखिएको छ । तर दुवै उद्योगहरूले नियन्त्रणका लागि कुनै प्रयास नगरेको स्थानीयको आरोप छ । 

गोदावरी फ्लोर मिलका सञ्चालक मनोज अग्रवालले स्थानीयको गुनासो आएपछि पटक–पटक नियन्त्रण गरिएको र अहिले पनि हावाको चाप नियन्त्रणका लागि कोठा बनाउन लागिएको बताए। 

उता ठाकुर एग्रोका सञ्चालक हरिशंकर ठाकुरले भने स्थानीयको गुनासोपछि भुस निस्कने ठाउँलाई छोपेको बताए। तर स्थानीयहरूले अनावश्यक रूपमा गुनासो गर्ने गरेको उनको भनाइ छ।

उद्योगहरूले देशको अर्थतन्त्रलाई उकास्न टेवा पुर्याउने भएपनि वातावरणीय असरको मूल्याङ्कन बिना उद्योग सञ्चालन गरिँदा स्थानीयवासी प्रदुषणले हैरान भएको बताउँछन्। 

यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने सो बारेमा जानकारी नआएको बताएको छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस