सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ६ लेन सडकको खाली भाग उजाड, कार्यान्वयन भएन फूलबिरुवा लगाउने सम्झौता

२०७८ असार १४, ०६:२० नारायण अवस्थी

धनगढी: १४ दशमलव ६ किलोमिटर लम्बाइको कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम झण्डै सकिन लागेको छ। तर सडकको मेडियन अर्थात सडकको बीचमा छाडिने खाली भागमा फूलबिरुवा लगाउन एक वर्ष अगाडि सम्झौता गरेका संघसंस्थाले अझै काम सुरु गरेका छैनन्। 

सुन्दरता बढाउने उद्देश्यले सडकको मध्य भागमा फूल बिरुवा रोप्न चाहने संघसंस्थाले सडक आयोजना कार्यालयसँग फूलविरुवाको बगै‌चा निर्माण गर्न सम्झौता गरेका थिए। 

मोहनापुल अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले सम्झौता गरेका संस्थालाई फूल विरुवा रोप्न अनुरोध गर्दै आएको छ। तर सम्झौता गरेका संस्थाहरुले भने निषेधाज्ञा र सडकमै भइरहेको पार्किङ मुख्य बाधक भएको बताएका छन्। 

सडकमा बनाइएको मेडियनमा फूल बिरुवा रोप्न इच्छुक १२ वटा संस्थाले योजना कार्यालयसँग एक वर्ष अगाडि सम्झौता गरेका थिए। तर पनि अहिलेसम्म कुनै पनि संस्थाले फूल बिरुवा रोप्ने सुरसार गरेका छैनन्। 

६ लेन सडकको त्रिभुवन मावि चोकदेखि दाना फेक्ट्रीको २ हजार ८१ मिटरमा फूल बिरुवा रोप्न सम्झौता गरेको ग्रीनक्लीन धनगढीका संयोजक सुवाश शाहीले आफूहरु योजना बनाइरहेको बताए।  ‘सामान्य हिसाबले बिरुवा लगाउने भए त पहिले नै लगाइसक्थ्यौँ तर फेन्सिङ समेत गर्नुपर्ने भएकोले समय लागेको हो। बजेटका सुनिश्चित भए छिटै काम सुरु गछौँ’ उनले भने।

यस्तै रामजानकी मन्दिर जाने बाटोदेखि अत्तरिया चोकसम्म ५ सय ४५ मिटर सडकमा माछापुछे« बैंकले फूल बिरुवा रोप्ने सम्झौता गरेको छ। त्यो बैंकले भने कोभिडका कारण भएको निषेधाज्ञाले काम गर्न नसकेको बताएको छ। छिट्टै काम सुरु गर्ने र्बैकका प्रदेश कार्यालय प्रमुख हरी ऐरले दिनेश खबरलाई बताए।

धनगढीको माया मेट्रो अस्पतालले सहिद गेटदेखि शिवपुरी धाम चोकसम्मको ५ सय ३५ मिटर सडकमा फूल बिरुवा रोप्न सम्झौता गरेको छ। तर त्यो अस्पतालले भने सडकमा पार्किङ्ग गरिने ट्याङ्करका कारण काम गर्न नसकिएको बताएको छ। अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले सडकको दुबैतिर गरिने ट्याङ्कर पार्किङ्गले गर्दा फूल बिरुवा रोप्न समस्या भएको बताएका छन्। 

मनहारा खोलादेखि रामजानकी मन्दिर जाने बाटोसम्म १ हजार ७ सय ५८ मिटर मेडियनमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले फूल बिरुवा रोप्ने भने पनि कुनै काम अगाडि बढाएको छैन।े बजेट स्वीकृतीका लागि केन्द्रीय कार्यालयमा पठाएको प्रदेश निर्देशक नामाकर न्यौपानेको भनाइ छ।

यसैगरी कैलाली उद्योग वाणिज्य संघले भन्सारदेखि मिलन चोकसम्मको ७ सय १५ मिटरमा फूल बिरुवा लगाउने सम्झौता गरेको छ। धनगढीको शारदा माविले मिलन चोकदेखि चौराहासम्म ९ सय २० मिटर, रोटरी क्लब अफ धनगढीले चौराहादेखि सहिद गेटसम्म १ हजार ६० मिटर, सडक विभाग धनगढीले शिवपुरी धाम चोकदेखि बोराडाँडीसम्म ८ सय मिटर, ठाकुर एग्रो ईन्डस्ट्रिजले बोराडाँडीदेखि त्रिभुवन मावि चोकसम्म ६ सय ५३ मिटरमा बिरुवा लगाउने सम्झौता गरेको छ। 

त्यस्तै नन्दिनाज एकेडेमीले दाना फेक्ट्रीदेखि एयरपोर्ट चोकसम्म ८ सय ६३ मिटर, लायन्स क्लब अफ धनगढी ग्रीन सीटीले एयरपोर्ट चोकदेखि बिस्कुट फेक्ट्रीसम्म २ हजार ५५ मिटर, सामुदायिक वन समन्वय समिति, कैलालीले बिस्कुट फेक्ट्रीदेखि मनहरा खोलासम्म २ हजार मिटरमा फूल बिरुवा रोप्ने सम्झौता गरेका छन्। 

तर कुनै पनि संस्थाले काम अगाडि बढाएका छैनन्। अहिले फूल बिरुवा रोप्ने मौसम भएकोले ती सबै संस्थालाई काम गर्न पुनः अनुरोध गर्ने सडक योजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेल बताउँछन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस