अछाममा गाडीको पास माग्ने प्रहरी सेनाका जवानबाट कुटिए
अछाम: अछाममा पासविनै कैलालीबाट गएको ना४ख ४७४१ नम्बरकाे बसमा सवार एक यात्रुले प्रहरी जवानमाथि हातपात गरेका छन्।
आइतबार साझ करिब ६ बजेतिर जयगढ प्रहरी चेकपोष्टमा बसको कागजात तथा पास माग्ने क्रममा बसमा सवार भक्त प्रसाद जैशीले प्रहरी चेकपोष्टमा कार्यरत एक प्रहरी जवानमाथि हातपात गरेका हुन्।
उनले आफू प्रहरीको इन्पेक्टर हो भन्दै पास माग्ने प्रहरी जवानमाथि हातपात गरेका थिए। उक्त घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले नियन्त्रणमा रहेका ती यात्रुको नाम ठेगाना नखुलेको र सोध्दा फरकफरक परिचय दिने गरेको बताए। मानसिक अवस्था ठिक नभएकाले जिल्ला अस्पतालमा उनको उपचार गरिने डिएसपी अर्यालले बताए।
मदिराको नशामा लठ्ठ भेटिएका जैशी अछामकै ढकारी गाउँपालिकाको घोडासैनका रहेको स्थानीयले बताएका छन्। उनी नेपाली सेनाका जवान समेत रहेको स्थानीय बताउँछन्।
जैशीले बसमा सवार अन्य यात्रुलाई समेत दुःख दिएको एक यात्रुले दिनेशखबरलाई बताए।