सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरलाई बजेट सक्न चटारो, वर्षा र हिलोमा सडक कालोपत्रे

२०७८ असार १२, ०६:०८ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर २ पुरानो भन्सार रोडस्थित शिव राज भण्डारीको घरदेखि पूर्व आर्यन ओझाको घर जाने सडक कालोपत्रेको काम जेठको अन्तिम सातादेखि सुरू भयो। 

संघीय सरकारको ३ लाख ५० हजार बजेटमा सो सडक कालोपत्रे गर्ने काम अहिले जारी छ। विगत ११ महिनादेखि ठप्प रहेको सडक कालोपत्रेको काम वर्षातमा सुरु भएको हो। 

फाल्गुन–चैतमा कालोपत्रे गरिसक्नुपर्ने सडक वर्षातको समयमा निर्माण थालिएकाले गुणस्तरीय नहुने चिन्ता स्थानीयको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ स्थानीय आर्यन ओझाले गत चैतमा कम सक्ने गरी कालपत्रे गरिनुपर्ने बताए।  

’उपमहानगरपालिकाले गत चैतमै काम सक्ने गरी कालोपत्रेको काम सुरू गर्नुपर्ने थियो।’ उनले भने, ११ महिना सुतेर असारमा कालोपत्रे गरिँदै छ। खै कस्तो सडक बन्ने हो।’ 

धनगढी उप–महानगरपालिकालाई असार लागेसँगै बजेट सिध्याउने चटारो परेको हो। 

उप–महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा उप–महानगरपालिका भित्र सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गरेको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को दुन स्कूलसम्म सडक कालोपत्रे गर्ने काम पनि असार लागेसँगै सुरू भएको छ। 

संघीय सरकारको ४ लाख ९० हजार बजेटमा सो सडक कालोपत्रे गर्ने काम थालिएको हो। धनगढी उप–महानगरपालिका भित्र असार सुरू भएसँगै धमाधम सडक कालोपत्रे गर्न सुरू भएका हुन। 

वर्षातमा निर्माण गरिएका सडकहरू गुणस्तरहीन हुने भएपनि उप–महानगरपालिकाले प्रत्येक वर्ष वर्षातमा सडक कालोपत्रे गर्दै आएको छ। 

वडा नम्बर ३ का स्थानीय बसन्त मल्लले असारमा सडक निर्माण नगरी कार्तिकसम्म सार्न प्रस्ताव गरिएपनि वर्षातमा कालोपत्रे गरिन लागिएको बताए।

धनगढी उप–महानगरपालिकाले गत चैतमै सडक निर्माणका कामहरू सक्नुपर्ने भएपनि ११ महिनादेखि ठप्प काम असार सुरू भएपछि थालिएका हुन्। 

वर्षातमा बनेका सडकहरू टिकाउ नहुने स्थानीयको गुनासो छ। तर उप–महानगपालिकाले भने केही काम सकिएको र केही बाँकी रहेकाले सडक निर्माणको कामलाई तीव्रता दिइएको दाबी गरेको छ। 

धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर दीजराज भट्टले असारमा बजेट सिध्याउनुपर्ने भएकाले पानी परेका बेला काम होल्ड गर्ने गरि निरन्तरता दिइएको बताए।

’गत वैशाखदेखि लकडाउन भएर काममा ढिलाई भयो।’ उनले भने, ’असारमा बजेट सिध्याउनुपर्ने भएकाले पानी परेका बेला काम होल्ड गर्ने गरी निरन्तरता दिइएको छ।’ 

असार १५ भित्र काम नसके बजेट फ्रिज हुने भएकाले धनगढी उप–महानगरपालिका असारे विकासमा जुटेको हो। 

तर कुनै दीर्घकालीन योजना बिना असारमा आएर मात्र विकास निर्माणका काम, विशेष गरी सडक निर्माणका काम गरिनु गुणस्तरहीन कम हुनु हो। 
यसबाट बजेट सक्नेबाहेका अरू कुनै उपलब्धी नहुने देखिन्छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस