सुदूर नेपाललाई विश्वसँग जोड्दै

एएफसी महिला एशिया कप छनोटः नेपालको समूहमा हङकङ र फिलिपिन्स

२०७८ असार १०, ०९:१३ रासस

काठमाण्डौँः एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ। 

एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा बिहिबार सार्वजनिक गरेको ’ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन्।

समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ। छनोट प्रतियोगिता आगामी भदौमा हुनेछ।

प्रतियोगितामा सहभागी हुने देशलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष टोलीले एएफसी महिला एशिया कपमा भाग लिन पाउने छ।

साविक विजेता जापान, अष्ट्रेलिया, चीन र आयोजक भारत सो प्रतियोगिताका लागि छनोट भइसकेका छन्।

छनोट प्रतियोगिताको समूह ए मा चिनियाँ ताइपेइ, बहराइन, तुर्किमिनिस्तान र लाओस, समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान, समूह सीमा प्रजग कोरिया, सिंगापुर, इराक र इण्डोनेशिया, समूह डीमा म्यानमा, युनाइटेड अरब इमिरेट्स, ग्वाम र लेबनान, समूह इमा गणतन्त्र कोरिया, उज्वेकिस्तान र मंगोलिया, समूह जीमा जोर्डन, इरान र बंगलादेश तथा समूह एचमा थाइल्याण्ड, प्यालेस्टाइन र मलेसिया छन्।

एएफसी महिला एशिया कप सन् २०२२ जनवरी तेस्रो सातादेखि भारतमा हुने एएफसीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस