सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झण्डै एक करोडको सडक निर्माणको १५ दिनमै भत्कियो

२०७८ असार १०, ०६:३१ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिकाले वडा नम्बर २ जागृती टोलमा निर्माण गरेको ६०९ मिटर लम्बाईको सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। 

वडा नम्बर २ मा रहेको लोकतान्त्रिक चोकदेखि जागृती टोलहुँदै रिङ्ग रोड जोड्ने ६०९ मिटर लम्बाईको सो सडकको काम गत मंसिरमा सम्पन्न भएको थियो। तर निर्माण सम्पन्न भएको १५ दिनमै सडक भत्किन थालेको हो भने सडक किनारमा रहेको नालीहरू पनि भत्किन थालेका छन्। 

धनगढी उप–महानगरपालिकाले सो सडक निर्माणका लागि २०७५ साल चैतमा अन्जु निर्माण सेवासँग ९७ लाख ८१ हजारमा सम्झौता गरेको थियो। ६०९ मिटर लम्बाईको सो सडक ६ दशमलव ७५ मिटर चौडाई र दुवै छेउमा १ दशमलव २ मिटरको नाली रहेको छ। 

निर्माण कम्पनीले गत मंसिरमा निर्माण सम्पन्न गरेको थियो। तर निर्माण सम्पन्न भएको १५ दिनमा सडक भत्किन थालेको स्थानीयले बताएका छन्। धनगढी उप–महानगरपालिका २ का स्थानीय केआई सिंह चौधरीले सडक १५ दिनमा सडक भत्किन थालेको बताए।   

‘सडक भत्किन थालेपछि उप–नगरपालिकालाई गुनासो गरेपछि मर्मत गरिएको थियो’ उनले भने, ’अहिले फेरी सडकको ठाउँ–ठाँउमा भत्किन थालेको छ। नाली पनि फुट्न थालेको छ।’

सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको उनको आरोप छ। ‘ग्रावेल कम हालिएको छ र पेलान पनि राम्रोसँग गरिएको छैन’ उनले थपे। 

झण्डै तीन वर्ष आयू तोकिएको सो कालोपत्रे सडकमा निर्माण पूरा भएको १५ दिनमै दुबो उम्रिन थालेको अर्का स्थानीय पुष्पराज जोशीले बताए। ‘निर्माण सम्पन्न भएको केही दिनमै दुबो उम्रियो, सडक भासिन थाल्यो, चिरा पर्न थालेको र नाली पनि फुट्न थाल्यो’ उनले भने। 

उता धनगढी उप–महानगरपालिकाले भने निर्माण कम्पनी अन्जु निर्माण सेवाले सडक हस्तान्तरण नगरेको र सडक १ वर्षको मर्मत अवधिमै रहेको बताएको छ। 

धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर दीजराज भट्टले सडकमा विविध समस्या आएको गुनासो आएपछि मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताए। 

नगर क्षेत्रमा गरिने विकास निर्माणका कामको नियमित निरीक्षण र अनुगमन नगरिँदा गुणस्तहीन काम हुने गरेको बताइन्छ।

धनगढी उप–महानगरपालिकाले वडा नम्बर २ जागृती टोलमा निर्माण गरेको सडक १५ दिनमै भत्किनुको कारण गुणस्तरहीन काम भएको स्थानीयको बुझाई  छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस