सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको बजेटमा शक्तिको प्रभाव, बाजुरा र अछाममा पूर्वाधारमा करोडौका योजना

२०७८ असार १०, ०६:४४ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ।

पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको प्रदेश सभा सदस्यहरुले बताएका छन्। 

बाजुरा र अछामका पूर्वाधारका योजनाहरुमा रकमसमेत धेरै राखिएकाले बजेटमा समेत प्रदेशको अर्थ मन्त्री शाह र नेता रावलको प्रभाव देखिएको आरोप लागेको हो। प्रदेश सभा सदस्य भरतबहादुर खड्काले पूर्वाधारको बजेटमा आधार रकम अछाम र बाजुरा गएको बताए। उनले भने, ‘योजना प्रदेशको विकासको लागि छैन्। प्रदेशको सम्बृद्धिका लागि छैन्। कार्यकर्ता खुसी पार्न ल्याएको छ। कम्पनीहरुलाई खुसी पार्न ल्याएको हो।’ बाजुरा अर्थमन्त्री शाहको जिल्ला भएर बढी पूर्वाधारका योजनामा रकम गएको र अछाममा एमाले नेता भीम रावलको प्रभावले बढि बजेट गएको खड्काले बताए। 

सुदूरपश्चिम सरकारका प्रादेशिक गौरवका सडकहरुमा समेत न्यून बजेट विनियोजन गरिएका बेला अछाम तथा बाजुराका पूर्वाधारका योजनाहरुमा भने धेरै रकम विनियोजन गरिएको हो। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने अधिकांश योजनाहरुमा १० करोड बढी रकम विनियोजन गरिएको छ।

तर प्रादेशिक गौरवका सडकका लागि कैलालीमा एक करोड, कञ्चनपुरमा ३ करोड १० लाख, बैतडीमा साढे ३ करोड, दार्चुलामा साढे ३ करोड, अछाममा २ करोड, बझाङमा एक करोड ७५ लाख विनियोजन गरिएको छ। तर अर्थ मन्त्री शाहको गृह जिल्ला बाजुरामा २६ करोड ९४ लाख विनियोजन गरिएको छ। प्रदेशका नौ वटै जिल्लाको तुलनामा अछाम र बाजुरामा धेरैरकम विनियोजन गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले नै बिरोध गरेका छन्।

सुदू्रपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिँह बोहराले प्रदेश सरकारको दीर्घकालिन सोचका साथ बजेट नआएको बताए। उनले प्रादेशिक गौरवका सडक योजनाहरुमा न्यून बजेट विनियोजन हुनु र अछाम–बाजुराका पूर्वाधारका योजनाहरुमा बढी रकम विनियोजन हुनु शक्तिको दुरुपयोग भएको बताए।

उनले भने, “यो बजेट यस्तो झुर, यस्तो कम्जोर, लक्ष्य बिहिन छ। स–साना रकमका योजनाहरु राखेर किताब मात्र भर्न काम गरिएको छ। हजारौ योजनाहरु बनाइएको छ। आवस्यक बजेट विनियोजन गर्नुपर्ने जस्ले जनतालाई र सुदूरपश्चिमको विकासलाई टेवा पुग्ने योजना ल्याउनुपर्ने। तर प्रदेश गौरवका योजनाहरुमा एक करोड छ। अछामको एक गाउँका टोलको सडकमा ६ करोड छ।” प्रादेशिक गौरवका सडकका लागि चालु आर्थिक वर्षमा १० करोड भन्दा तलका योजना समावेश नगरिएको उनले बताए। प्रादेशिक गौरवका योजनाहरुको महत्व सुदूरपश्चिम सरकारले नबुझेको उनले बताए। 

सुदूरपश्चिमका अर्थ मन्त्री प्रकाश शाह र एमाले नेता भीम रावलको सुदूरपश्चिमको बजेटमा प्रभाव देखिएको हो। नेता रावलको घर जाने सडक कालोपत्रेका लागि मात्र ६ करोड विनियोजन गरिएको छ। अछामको साँफेबगर नगरपालिकाको बयलपाटा माझका पीपलदेखि  नदुकाना–कालाआम–डोटै–ल्याङमाता सडक कालोपत्रेका लागि ६ करोड छुट्याइएको हो।

प्रादेशिक गौरवका सडक योजनाका लागि एक करोड बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा एमाले नेता रावल र अर्थ मन्त्री शाहको प्रत्येक प्रभाव देखिएको अन्य प्रदेश सभा सदस्यहरुले आरोप लगाएका हुन्।

तर सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेटमा देखिएका त्रृटि सच्याउने बताएका छन्। उनले प्रदेश सभामा बजेटमाथिको छलफलका क्रममा आएका गुनासाहरुलाई सम्बोधन गर्ने बताएका हुन्। 

सुदूरपश्चिमका अर्थ मन्त्री शाह भीम रावल निकट हुन्। अहिले सुदूरपश्चिमका १७ जना प्रदेश सभा सदस्य एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल निकटका छन्। सुदूरपश्चिम प्रदेश सभामा रावल निकटका प्रदेश सभा सदस्यहरुको संख्या धेरै भएकै कारण उनको निर्वाचन क्षेत्र र शाहले आफ्नो निर्वाचन क्षेत्रामा अत्यधिक बजेट विनियोजन गरेको पाइएको छ।

अर्थ मन्त्री शाहले ३० अर्ब ३३ करोडको बजेट प्रदेश सभामा असार १ गते प्रस्तुत गरेका थिए। बुधबारको प्रदेश सभामा बजेट माथिको छलफल प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बिरोध गरेका थिए। 

वार्षिक विकास कार्यक्रम २०७८/0७९

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस