सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युतीय ट्रान्सफर्मर पड्किँदा १०९ घरमा क्षति, प्राधिकरणले लापरवाही गरेको आरोप

२०७८ असार ९, ०७:१४ सरेन जैरू

धनगढीः  धनगढी उप–महानगरपालिका ३ भन्सार नजिक सम्झना टोलमा मंगलबार राति ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा १०९ घरमा क्षति पुगेको छ। 

राति डेढ बजे ट्रान्सफर्मरमा आगो लागेसँगै घरहरूमा टिभी, फ्रिज, पङ्खा, बल्ब, मिटर र मोटरलगायतका विद्युतीय सामग्रीमा क्षति पुगेको हो। साथै करेन्ट लागेर एक जनाको खुट्टामा चोट लागेको बाहेक अन्य मानविय क्षति भने नभएको बताइएको छ। 

त्यहाँका १०९ घरहरूमा टिभी, फ्रिज, पङ्खा, बल्ब, मिटर र मोटरलगायतका विद्युतीय सामग्रीमा शर्ट भएको स्थानीयहरूले बताएका छन्। साथै करेन्ट लागेर एक जनाको खुट्टामा चोट लागेको छ। 

स्थानीयवासीले तत्काल नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा फोन गरे तर पटक–पटक फोन गर्दासमेत फोन नउठेको उनीहरूको गुनासो छ। स्थानीय भरत सिंहले प्रत्येक घरमा केही न केही क्षति भएको बताए। ‘राति ट्रान्सफर्मर पड्किएर ठूलो क्षति भयो।’ उनले भने, ‘स्थानीय समीर चौधरीको करेन्ट लागेर खुट्टामा चोट लागेको छ।’ 

नेपाल विद्युत प्राधिकरणले फोन नउठाएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए। त्यसपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको बताइएको छ। स्थानीयहरूले चिसो बालुवा छ्यापेर ट्रान्सफर्मरमा लागेको आगो नियन्त्रणमा लिएका थिए। 

स्थानीय हिरा गजुरेलले विद्युत प्राधिकरणको लापरबाहीले घटना घटेको आरोप लगाइन्। ‘विद्युत प्राधिकरणको लापरवाहीले घटना घटेको हो’ उनले भनीन्, ‘प्राधिकरणले फोन उठाएर तत्काल सो क्षेत्रको लाइन काटिदिएको भएपनि क्षति न्यूनिकरण गर्न सकिने थियो।’

उता नेपाल विद्युत प्राधिकरणले भने घटना के कति कारणले घट्यो भन्नेबारे अनविज्ञता प्रकट गरेको छ। ट्रान्सफर्मरमा समस्या आएर आगलागी भएको हुनसक्ने र पूर्ण जानकारी नभएको प्राधिकरणले बताएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले राति ड्युटीमा कोही नहुने भएकाले फोन नउठेको बताएका छन्। 

पुराना तथा जिर्ण ट्रान्सफर्मरको समयानुकुल मर्मत सम्भार नहुँदा र विद्युतका पोलहरू र तारहरू व्यवस्थित नगरिँदा उपभोक्ताले जोखिम मोल्नु परिरहेको छ। साथै पटक–पटक विद्युतको समस्या आउने गरेपनि प्राधिकरणले प्राप्त गुनासाहरूको समयमै समाधान नगर्दा उपभोक्ताले सास्ती खेप्नु परिरहेरको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस