जातीय हैन वर्गीय विभेदका विरुद्ध लड्न आवश्यक
-तुलसी बोहरा
पुस्तौदेखि जातिय विभेदको जातोमा पिसिएको समाजले उन्मुक्तिको बाटो खोजेसँगै समाज क्रमिक रुपमा परिवर्तन भएको छ। इतिहासका विभिन्न कालखण्डमा साँस्कृतिक, आर्थिक, राजनीतिक परिवर्तनका घटनाहरुले सामाज अथाह परिर्वतन भएको छ।
आज हजाराै व्यक्ति अवसर र गुणस्तरिय शिक्षाको लागि संघीय राजधानी काठमाडौंमा बसोबास गर्दछन्। उनीहरुका आफ्नै घर छैनन् अर्काको घरमा भाडा तिरेरै बसेका छन्। यसमा दलितमात्रै नभएर बाहुन, क्षेत्री सबैका छोराछोरी पर्दछन्।
अहिले दलित भएकै कारण आफूले कोठा नपाएको भन्दै रुपा सुनारले घरबेटी विरुद्ध उजुरी हालिन्। ठिक छ, यो कुरालाइ म गलत भन्दिनँ। तर त्यस्तै केस, बाहुनको घरमा क्षेत्रीले कोठा माग्न जाँदा हुने गरेका छन् ‘ए हाम्रो घरमा त माछामासु चल्दैन। घरमा पकाउनै मिल्दैन। महिलाहरुलाई कोठा दिदैनौं महिनावारी हुन्छन्’ भनेर फर्काएका छन्।
काठमाडौंका घरबेटीले जनकपुरको मधेशीलाई कोठा नदिएको खुद म आफैले देखेको छु। अब भन्नुस् विभेद कहाँ छैन ? अर्को कुरा यसलाई विभेद मान्नेकी नमान्ने ?
मलाई लाग्छ यी मानव स्वभाव हुन्। सबैमा यस्ता स्वभाव हुदैनन् र छैनन् लामो समयदेखि रुढीवादी परम्पराबाट ग्रसित हाम्रो नेपाली समाज रुपान्तरणको पक्षमा छ।
एउटा पिउपाबाट निस्कदै गरेको पुतलीको लार्भालाई समय आगावै बलले खिचेर निकाल्न खोज्दा लार्भा त्यही मर्छ। बलद्धारा खिचेर विचार परिवर्तन हुदैन। आज हामी समाजको बदलिँदो चरित्र देखिरहेका छौं। विगतको तुलनामा आजको समाज अधिक परिवर्तन भएको छ।
एउटा सामाजिक पक्षमा परिर्वतन आउँदा अर्को समाजिक समस्याको समाधान हुन्छ। समयसँगै परिवर्तन निश्चित छ। यति हुँदाहँुदै पनि दलित भएकै कारण फलानोले छोरी दिएन, फलानोले छोरी लगेन भन्दै हरेक घटनामा जातीय रङ्गभेद देखाउने हो भने समाज समृद्धितर्फ नभएर जातिय दन्द्धमा धकेलिने निश्चित छ।
पूर्व रुकुममा नवराज विकका घटना हुन् या पश्चिम बझाङमा बलात्कारमा परेकी १२ वर्षीय सम्झना विकका घटना हुन्। मृत्यु र बलात्कार जस्ता घटनामा समेत जातलाई मात्रै केन्द्र बनाएर मुद्धा उठाइदा हाम्रो सोचमै प्रश्न चिन्ह लाग्छ।
दलित समुदायमा घटना घट्दा जातिनै कारण हो भन्ने परिपाटी हामीमा बसिसकेको छ। के यस्तै घटना ब्राह्मण र क्षेत्रीले भोगिरहेका छैनन् ?
विश्वमै धेरै जातजाति बसोबास गर्ने नेपाली समाजमा कहिलै जातिय दन्द्ध भएको इतिहास पढ्नु परेको छैन। इतिहासको कुनै कालखण्डमा विभेद थिएन।
यसकारण हामी, म दलित भएकै कारण हिंसामा परे, कोठा पाईनँ, अपमानित भए भन्ने सोच परिवर्तन गरौ। कतिले त तिमी दलित जस्तो देखिँदैन भन्दा ममाथि हिंसा भयो पनि भन्ने गरेका छन्।
अरे बाबा ! म क्षेत्रीको छोरीलाई कसैले तिमी क्षेत्री जस्तो छैन नेवार जस्तो देखिन्छौ भन्दा मैले त कहिलै अपमानित महशुस गरिनँ। भनिन्छ नि दोष सृष्टिको हैन दृष्टिको हो।
आफ्नो जातप्रति माया र गौरव गरौं। अब दलित कोटाबाट नभएर खुल्ला प्रतिस्पर्धाबाट अगाडी आउन सिकौं। राज्यका कोटाहरुले हामीलाई गरिखाने नभएर मागि खानेतर्फ उन्मुख गरेको छ।
अब जातीय विभेदका कुरा छाडौं। मानव अस्तित्वको लडाईमा हातेमालो गरेर हामी सबै जातजाति सँगसँगै अगाडी बढ्औ। सानो मन नगरौ। विगतको तुलनामा हाम्रो समाज परिवर्तन भएको छ।
हाम्रो सोच परिवर्तन भएको छ र हाम्रो जिवनशैली परिवर्तन भएको छ। आज जतिपनि सामाजिक घटनाहरु छन् जातका कारणले हैन वर्गका कारणले हुने गरेका छन्।
बरु वर्गीय संघर्षका लागि तयार हौ। जातले म सानो उ ठुलो, म ठुलो उ सानो नभनेर आर्थिक समृद्धिको बाटो अवलम्बन गरौ। जब हाम्रो स्थिति अर्कोको अधिनमा रहन्छ तब हामी उ भन्दा कमजोर हुन्छौ।
अहिलेको समाज पुँजीवादी समाज हो। यहाँ जोसँग धेरै पुँजी छ, उहि सर्वशक्तिमान छ। त्यसैले जातीय विभेदका कुरा छाडेर धनी र गरीबको खाडल नाघेर पुँजीपती सर्वशक्तिमान बनौ।