सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहना–खुटिया नाला तटबन्ध निर्माणमा अनियमितताको आशंका

किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन

२०७८ असार ८, ०७:२४ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित मोहना–खुटिया नाला तटबन्ध निर्माणमा आर्थिक अनियमितताको आशंका गरिएको छ।

विगठित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित मोहना–खुटिया नाला तटबन्ध निर्माण कार्यमा आर्थिक अनियमितताको आशंका गरिएको हो।

२० लाखको तटबन्ध निर्माणको योजनामा काम हुँदै छ। सो तटबन्ध निर्माणका लागि गत चैत्र २४ गते टोल भेला बसी मोहना–सुकुटी नाला तटबन्ध उपभोक्ता समिति गठन गरिएको थियो। निर्णयको माइन्युटमा २६ जना टोलबासीले हस्ताक्षर गरिएका छन्।

तर तटबन्ध निर्माणका लागि आफुहरूसँग छलफल र जानकारी नै नगराई किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको स्थानीयको आरोप छ।

जयलक्ष्मी टोलकी स्थानीय नीतु नेपालीले तटबन्ध निर्माणका लागि आफुहरूसँग छलफल र जानकारी नै नगराई किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको बताइन्।

उपभोक्ता समितिको अध्यक्षमा लालबहादुर थापा, सचिवमा नरबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सीता सार्की र सदस्यहरूमा हेमराज जोशी, कृष्ण विक, धनबहादुर चुनारा र नन्दा थापा रहेका छन्। तर आफुखुसी उपभोक्ता समिति र अनुगमन समिति गठन गरिएको उनीहरूको आरोप छ।

मोहना खुटिया नाला तटबन्ध उपभोक्ता समितिका सचिव नरबहादुर श्रेष्ठले वर्षात सुरू हुनै लागेकाले तत्काल तटबन्ध बनाउनुपर्ने भएकाले हतारमा समिति गठन गरिएको बताएको छ। टोलमा एकदुई जनाबाहेक सबैलाई जानकारी गराइएको उनको भनाइ छ।

कोरोना महामारीले गत वैशाखदेखि घर बस्न बाध्य स्थानीयहरलाई ज्याला मजदुरीमा काम दिइनुपर्ने स्थानीयहरूको माग समेत छ। टोल बाहिरका मजदुरहरूलाई काम दिइएको उनीहरूको आरोप छ। उता उपभोक्ता समितिका सचिव श्रेष्ठले मजदुरहरू टोलकै रहेको तर मित्रिहरू भने बाहिरको रहेको बताए।

मोहना–खुटिया नाला तटबन्ध निर्माणको अहिले जारी छ। जेठ २५ गतेबाट काम सुरू भएको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ। नालामा ७५ मिटरको तटबन्ध निर्माण भएइरहेको छ। जसमध्ये २६५ वटा डिब्बा बनिरहेका छन्। 

वर्षेनी कटानको समस्या खेप्दै आएका सो क्षेत्रका स्थानीयहरू नालामा तटबन्ध निर्माण भएपछि केही राहत पाउने  छन्।

तटबन्ध निर्माणको लागि छुट्याइएको बजेट पारदर्शी रूपमा खर्च हुनुपर्ने र मापदण्ड अनुसार तटबन्ध निर्माण हुनुपर्ने स्थानीयहरूको माग छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस