सुदूर नेपाललाई विश्वसँग जोड्दै

फूल फुली ढकमक्क आँगन

२०७५ कार्तिक ११, ०७:५२ जनक विष्ट

धनगढी उप–महानगरपालिका ३ बोराडाँडीकी अपेक्षा चन्दको आँगनमा ढकमक्क सयपत्री फूल फुलेका छन्। तिहारमा दाजुभाईलाई टिका लगाउदा माला आवश्यक पर्छ भनेर नै अपेक्षाले आँगनभरी सयपत्री फूल लगाएकी हुन्। विगतमा पनि आफैले गोडमेल गरी संरक्षण गरेका फूलकै माला दाजुभाईलाई लगाउदै आएकी अपेक्षाले यसपाली पनि तीनै फुलको माला दाजुभाईलाई लगाउने तयारी गरेकी छिन्। त्यसैले त उनी फूलको संरक्षण गर्दै  तिहार आउने दिन गन्न थालेकी छिन्।

बोराडाँडीकी अपेक्षाले जस्तै गरी गोदावरी नगरपालिकाको गेटाकी पुजा चौधरीको आँगन पनि ढकमक्क फुलेका सयपत्री फूलेले भरिभराउ भएको छ। प्राय जसो आँगनमा लगाएको फुलले नै तिहारमा दाजुलाई माला लगाउने पुजा, यसपाली भने दाजु सात समुद्र पारी भएका कारण दिदी र फूपुसँगै कान्छा बुबाका छोरा दाजुभाईलाई सोही सयपत्री फूलले माला लगाउने बताउछिन्।

धनगढी आसपासका गाँउघर पुग्दा अहिले प्रायजसो हरेकका आँगनमा तिहारकै लागी भनेर दिदीबहिनीले लगाएका सयपत्री फूल ढकमक्क फूलेको देख्न सकिन्छ। तीनै फूलको संरक्षण गर्दै दिदीबहिनीहरुले तिहारको व्यग्र प्रतिक्षा गरिरहेका छन्। गेटाकी पशुपति भट्टको आगनमा पनि ढकमक्क फूलेको सयपत्री फूलको राज छ। भाईहरुलाई तिहारमा टिका लगाउदा र लक्ष्मी पुजामा आवश्यक पर्छ भनेर नै पशुपतिकी छोरीले नै त्यो फुल लगाएकी हुन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस