सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीले १५ महिनादेखि सुदूरपश्चिमका होटल र यातायात ठप्प हुँदा...

२०७८ असार ६, ०६:४१ सरेन जैरू

धनगढीः कोरोना महामारीपछि होटल र यातायातलगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएका छन्। 

२०७६ सालको चैत्र महिनामा कोरोना महामारी फैलिएर लकडाउन भएसँगै बन्द भएका व्यवसाय बीचमा केही समय खुलेपनि पुनः ठप्प छन्। सुदूरपश्चिम प्रदेशमा १५ महिनादेखि ठप्प छन्। 

पहिलो लहरको कोरोना भाइरस फैलिएर लकडाउन भएर ठप्प भएका होटल, पर्यटन र यातायात व्यवसायहरू पुनः लयमा आउन नपाउँदै दोस्रो लहर सुरू भएपछि झनै प्रभावित भएका हुन्। 

कोरोना महामारीबाट कञ्चनपुरका ६० प्रतिशत होटल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन्। कोरोना महामारी बढ्दै जाने र निषेधाज्ञा लम्बिदै जाने हो भने, बाँकी रहेका व्यवसाय पनि धराशायी बन्ने होटल व्यवसायीहरूको भनाइ छ। 

होटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव परमानन्द भण्डारीले होटल र पर्यटन व्यवसाय कोरोनाले उठ्नै नसक्ने गरि प्रभावित भएको बताए। 

“होटल व्यवसायहरूको अस्तित्वलाई कायम राख्न भ्याक्सिनलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सुरक्षाका गतिविधि अपनाएर होटल व्यवसाय खोल्नुपर्छ।” उनले भने, “सुदूरपश्चिममा धराशायी बनेका होटल र पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन कम्तिमा पनि ३/४ वर्ष लाग्ने देखिएको छ।”  

यातायात व्यवसायमा पनि कोरोना महामारीको असर नराम्रोसँग परेको छ। कोरोनाको पहिलो लहरदेखि हालसम्म बसहरू ग्यारेज, घर र बसपार्कमा थन्किएका छन्। जाम भइ खिया लाग्न थालेको छ।

भारतबाट आएका मानिसहरूलाई गन्तव्यमा परÞ्याउन केही सवारी साधन सञ्चालनमा रहेपनि अन्य सवारी साधन ठप्प छन्। 

महाकाली यातायात व्यवसायी संघका अध्यक्ष डम्मबरराज पन्तले अन्य क्षेत्र जस्तै यातायात व्यवसाय पनि कोरोनाबाट प्रभावित भएको बताए। 

“यातायात व्यवसाय ठप्प भएपछि सवारी धनीहरूलाई बैंकको ब्याज तिर्न हम्मेहम्मे परेको छ।” 

उनले भने, “१५ महिनादेखि व्यवसाय बन्द रहेपछि मजदुरहरूको अवस्था दयनीय बनेको छ। उनीहरू अन्य पेशा अङ्गाल्न बाध्य भएका छन्।” 

अन्य क्षेत्रहरू जस्तै सिनेमा हल पनि कोरोना महामारीका कारण प्रभावित भएको छ। 

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कैलाली र कञ्चनपुरमा रहेका आधा दर्जन सिनेमा हलहरू ठप्प छन्। 

कञ्चनपुरको सेती महाकाली सिनेमा हलका सञ्चालक गुड्डु अवस्थीले सिनेमा हल मानिसहरूको भीड हुने स्थान भएकाले कोरोनाको जोखिम उच्च हुने बताए। 

“कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल सिनेमा हल खोल्नुपर्ने अवस्था छैन।” उनले भने, “तसर्थ शत प्रतिशत भ्याक्सिनपछि मात्र सिनेमा सञ्चालन गर्न सकिने अवस्था छ। त्यसमा तीनै तहको सरकारले ध्यान जानुपर्छ।” 

कोरोना माहामारीले विश्वको अर्थतन्त्र हल्लाइरहेको बेला सुदूरपश्चिममा पनि त्यसको असर देखा परेको छ। खासगरी होटल, पर्यटन र यातायातलगायत आर्थिक कारोबार हुने क्षेत्रमा यसको प्रभाव परिरहेको छ। 

यी क्षेत्रहरूबाट कोरोना संक्रमणको जोखिम पनि उच्च रहने गर्दछ। यी क्षेत्रहरूलाई महामारी पूर्वको अवस्थामा फर्काउन सबै जनतालाई खोप लगाउन जरूरी रहेको औल्याइएको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस