सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानको लागि टेण्डर प्रक्रियामा आर्थिक चलखेलको आशंका

२०७८ असार ५, ०९:२३ सरेन जैरू

बाजुराः जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट र पाइपलाइन स्थापनाको लागि आह्वान गरिएको टेण्डर प्रक्रियामा आर्थिक चलखेलको आशंका गरिएको छ। 

अस्पतालले जेठ २० गते अक्सिजन प्लान्ट र पाइपलाइन स्थापनाका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो। जसमा तीन वटा कम्पनीले सहभागिता जनाएका थिए। नियतबस बढी मूल्य प्रस्ताव गरेको कम्पनीलाई छनौट गर्न खोजिएको आरोप लागेको हो। दोस्रो लहरको कोरोना महामारी फैलिएर अक्सिजनको चरम आभाव भएपछि अहिले सबै अस्पलातहरू अक्सिजन प्लान्ट स्थापना गर्न जुटेका छन्। 

जिल्ला अस्पताल बाजुराले पनि अक्सिजन प्लान्ट र पाइपलाइन स्थापनाका लागि जेठ २० गते विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो। जसमा बीआरटी इन्टरनेशनल, स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिज र हेल्थ केयर सप्लायर्सले सहभागिता जनाएका थिए। 

बीआरटी इन्टरनेशनल कम्पनीले भ्याट रकमसहित १ करोड ५० लाख २९ हजार, हेल्थ केयर सप्लायर्सले १ करोड २० लाख ९१ हजार रुपैयाँ र स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले सबैभन्दा कम ८८ लाख रुपैयाँको प्रस्ताव गरेको थियो। 
स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले सबैभन्दा कम प्रस्ताव गरेपनि हेल्थ केयर सप्लायर्सलाई ठेक्का दिन खोजेपछि आर्थिक चलखेलको आशंका गरिएको हो। 

स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अनिमेश कुमार मिश्रले आफूहरूले भन्दा झण्डै ३३ लाख बढी प्रस्ताव गरेको कम्पनीलाई छनौट गरिएको बताए। तर बाजुरा अस्पतालले भने स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिज प्राविधिक मूल्याङ्कनमा अयोग्य रहेको बताएको छ। 

बाजुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकास राज जोशीले मापदण्ड पूरा गरेको कम्पनीलाई टेण्डर दिने निर्णय गरिएको बताए। प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट ९ जिल्लाका लागि अक्सिजन प्लान्ट खरिद गर्न गत पुसमा नै सहमति दिइको थियो। तर सामाजिक विकास मन्त्रालयको लापरवाहीले अहिलेसम्म प्लान्ट स्थपना हुन सकेको छैन। 

कोरोना महामारीका बेला अक्सिजनको हाहाकार भएपछि सुदूरपश्चिम प्रदेशका अस्पतालहरू अहिले प्लान्ट स्थापनामा जुटेका छन्। विज्ञहरूले असोज तिर कोरोनाको तेस्रो लहर आउने चेतावनी दिँदै अब त्यसको तयारीमा जुट्न सुझाव दिएका दिएका छन्। तर अहिले प्लान्ट स्थापना गर्दा टेन्डर प्रक्रियामै विवाद हुन लागेको हो।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस