सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोको उच्च जोखिममा बाजुराको अम्कोट

२०७८ असार ४, १२:३६ खबर संवाददाता

महेश बडु, धनगढी: बाजुराको बुढीगंगा नगरपालिका -१ मा रहेको अम्कोटका साथै त्रिवेणी नगरपालिकाको पैवा लगायतका गाउँहरु पहिरोको उच्च जोखिममा रहेका रहेका छन्। 

वर्षेनी बाढी पहिरोले त्यहाँका गाउँमा क्षति पुर्याउँदै आएको स्थानीय बताउँछन्। अम्कोटका स्थानीय पूर्ण प्रसाद पाध्याय बुढीगंगा नदीको किनारमा रहेका खेतियोग्य जमिन हरेक वर्ष घट्दै गइरहेका बताउँछन्। उनका अनुसार नदिको माथि रहेको अम्कोट गाउँको बिरखम्म बस्ति गत वर्ष विस्थापित गर्नु परेको थियो। 

बाढी पहिरोबाट पुग्ने क्षति घटाउन र नदिले बगाएको जमिनको राहतका लागि स्थानीय सरकारलाई पटक पटक अनुरोध गरेपनि अहिलेसम्म कसैले ठोस कदम चाल्न नसकेको पूर्ण बताउँछन्। “गाउँ हरेक वर्षातमा जोखिममा हुन्छ। गत वर्ष पनि भतिजोको पहिरोमा परि ज्यान गयो। हरेक वर्ष नगरपालिकाले केही दिनमा हुन्छ भन्ने गरेको छ, तर अहिलेसम्म केही गरेको छैन। राति घरमा बस्न डर लाग्छ। अहिले अम्कोट गाउँका १२० घरहरु पहिरोको उच्च जोखिममा रहेका छन्” उनले भने।

“एक्लै घरमा बस्न गाउँलेहरु डराउँछन्। २३ परिवार राति संगै बस्नु पर्छ, गफगाफ गर्यो भने डर कम हुन्छ,” उनी भन्छन्। अहिले बलदेदेखि दारिडाडासम्म सडक भाँसिदै गइरहेको उनले बताए। स्थानीय सरकार कानमा तेल हालेर सुतेको, आफूहरु समस्या समाधानका लागि प्रशासन र नगरपालिका धाइरहँदा पनि अब गछौँ भन्ने जवाफ मात्र पाइने गरेको पूर्णको दुखेसो छ। 

उनी भन्छन् “बस्ति विकासको कार्यक्रम आयो त भन्छन्, तर अहिलेसम्म कार्यान्वयन भएको छैन, नगरपालिकाले गाउँलाई तथा गाउँवासिलाई हेपे जस्तो लाग्छ”। उनले नगरपालिकाले बस्ति विस्थापित गर्ने भनेको भएपनि गर्छ भन्नेमा ढुक्क हुन नसकिने बताए।

पहिरोले कहिले गाउँ लग्छ भन्ने चिन्ताले सताउने गरेको सोही गाउँका अर्का स्थानीय लोकेन्द्र प्रसाद पाध्याय बताउँछन्। बुढीगंगाले गाउँको मुनीतिरबाट कटान गर्दै गएको बताउँदै उनी भन्छन् “थोरै वर्षात हुँदा पनि माटो भाँसिएर जान्छ। तर स्थानीय तह र जनप्रतिनिधिहरुले त्यसतर्फ ध्यान दिएका छैनन्। गाउँमा अवस्थित धेरै घरहरू संकटमा छन्।”

नगरपालिकाका धेरैजसो वडाहरु बाढी तथा पहिरोको जोखिममा रहेको बुढीगंगा नगरपालिकाका प्रमुख दीपक विक्रम शाहले बताए। उनले नगरपालिकाले पहिरो रोकथाममा ठोस कदम चाल्न नसकेको बताए। उनले भने “हामीले सम्पूर्ण गाउँवासीलाई सचेत रहन आग्रह गरेका छौँ, अहिले नगरपालिकाले विपद व्यवस्थापनका लागि १ करोड बजेट छुट्याएको छ, अम्कोटका लागि प्रदेश सरकारले पनि आकस्मिक बजेट छुट्याएको छ।”


 

कमेन्ट लोड गर्नुस