सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकामा नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डापछि सल्टियो

२०७८ असार ४, ०७:१९ सरेन जैरू

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डा मिलेपछि सल्टिएको छ। नेपाली काँग्रेस र एमाले भित्रको गुटहरूलाई पनि बजेट दिने सहमति भएपछि विवाद मिलेको हो। 

गौरीगंगा नगरपालिकाले बजेट सीमा निर्धारण समितिले प्रस्ताव गरेको बजेटमाथि कार्यपालिकामा छलफल नै नगराई वडाहरूमा सिलिङ्ग पठाउँदा विवाद उत्पन्न भएको थियो। तर भागबण्डा मिलेपछि पूरानो बजेटलाई परिमार्जन गरेर आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउने र वडाको सिलिङ्ग डेढ करोड पुऱ्याइने सहमति भएको छ। 

नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बजेट वितरणमा बदमासी गरेको, गिट्टी–बालुवा संकलनमा आर्थिक हिनामिना गरेको, योजना वितरणमा मनोमानी गरेको, नगरपालिकाको काम पारदर्शी नभएको, साना योजनाहरू वडा अध्यक्षहरूलाई समेत जानकारी नदिएर पठाइएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल समेत नगरेको भन्दै विरोध भएको थियो। 

नेपाली काँग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले नगरपालिकाका मेयर देउवाले वडाहरूमा बजेट सिलिङ्ग गर्दासमेत मनोमानी गरेको आरोप लगाएका थिए। तर नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले भने आफुले नियम बमोजिम नै बजेट सिलिङ्ग गरेको दाबी गरेका छन्।  

ुहामिले नियम बमोजिम नै बजेट सिलिङ्ग गरेका थियौँ।ु उनले भने, ुअनावश्यक रूपमा राजनीति भयो। पैसाको लागि केही पक्षहरूले अनावश्यक रूपमा विवाद सृजना गरेका हुन्।

नगरपालिकामा २१ सदस्यीय कार्यपालिका छ। तर १४ जना सदस्यहरुले नगरपालिकाले बोलाएको बैठक बहिष्कार गरेका थिए। बहुमत सदस्यहरुको मागलाई समेत नगरपालिका प्रमुख देउवाले अटेरी गरेको आरोप लागेको थियो। तर भागबण्डा मिलेपछि अहिले दुई पल्ट कार्यपालिकाको बैठक समेत बसेको छ। 

जनता समाजवादी पार्टीबाट कार्यपालिका सदस्य भक्तबहादुर विक भविष्यले पूरानो बजेटलाई परिमार्जन गरेर आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउने तयारी गरिएको बताए। वडाको सिलिङ्ग डेढ करोड पुऱ्याइने सहमति भएको उनको भनाइ छ। 

नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। तर गौरीगंगा नगरपालिकामा नीति तथा कार्यक्रममाथिको विवाद हुँदा समयमा बजेट आउनेमा आशंका गरिएको छ। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस