सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडर–जोरायल सडकको माटो किसानको बारीमा

२०७८ असार १, १२:२४ खबर संवाददाता

धनगढीः डोटीको जोरायलको प्राकृतिक सुन्दरता संकटमा पर्दै गएको छ। 

जोरायल क्षेत्रमा निर्माण भइरहेका सडकका कारण सुन्दरता संकटमा देखिएको स्थानीयले बताएका छन्। 

स्थानीय जीवन बोहराले गाउँपालिकाको वडा नम्बर ४ खैरेखोलामा सोमबार बाढी आएको बताए। सडक निर्माणका क्रममा थुपारिएको माटो तथा ढुङ्गा किसानको मकै बारीमा बाढीले पुर्‍याएकाे उनले बताए।  

उनले गाउँपालिका क्षेत्रमा निर्माण हुने सडकका कारण पहिरो तथा बाढीको जोखिम प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताए। 

बुडर–जोरायल सडकखण्ड निर्माणका क्रममा निस्किएको माटो तथा ढुङ्गा किसानको खेतमा गएको वडाअध्यक्ष नन्दराज भट्टले बताए। ‘सोमबारको वर्षापछि सडक निर्माणका क्रममा निस्किएको माटो किसानको खेतमा गएको हो’ उनले भने। 

उनका अनुसार सडकबाट निस्किएको माटो नदीमा भरिएपछि किसानको मकै बारीमा बाढी पसेको थियो। डोजरले पानीको निकास दिन खोज्दापनि नभएको उनले बताए। ‘वर्षातको पानीले माटो बगाएर ल्यायो। हामीले डोजरले माटो निकाल्ने प्रयाग गरेका थियौं। तर पानी भएकाले सकिएन्। किसानहरुको मकै बारीमा गयो’ उनले भने।

गाउँपालिकाका अनुसार अन्य वडाहरुमा पनि पहिरोको जोखिम छ। जोरायल गाउँपालिकाका सूचना अधिकारी चक्र सिँह ऐडीले पहिरोको बारेमा सूचना नआएको बताए। तर वडा नम्बर ६ लगायतका क्षेत्रमा पहिरो तथा नदीमा बाढीको जोखिम रहेको उनले बताए। 

जोरायल गाउँपालिका क्षेत्रमा खोलाहरु धेरै भएकाले नयाँ निर्माण गरिएका सडकका कारण पहिरो तथा बाढीको जोखिम छ। 


 

कमेन्ट लोड गर्नुस