सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्यौलासँग रमाउँदै डडेल्धुराका ठकुराठी, भन्छन् ‘अबको समय प्रांगरिक मलको हो’

२०७८ जेठ ३१, ०८:१३ लखन चौधरी

धनगढीः डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ४ का ४० वर्षीय चक्र ठकुराठी व्यावसायिक गड्यौला पालनमा निकै नै हौसिएका छन्।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा बाबुबाजेदेखि परम्परागत खेतीपातीमा आश्रित ठकुराठी पछिल्लो २ वर्षदेखि भने गड्यौला पालन व्यवसाय गर्दै आएका हुन्।

कृषि क्षेत्रमा रासायनिक मलबारे बढ्दै गएको सचेतना तथा प्रांगरिक मलप्रति बढ्दै गएको आकर्षणपछि गड्यौला पालन तथा गड्यौला मल उत्पादनमा कम्मर कसेर लागेका हुन्। त्ससमाथि छोटो अवधिमा पाएको सफलताले उनमा झनै उत्साहको सीमा छैन।

उनी भन्छन्, “अब किसानले खेतबारीमा रासायनिक मल प्रयोग गरेपपछि खेतको हैसियत कसरी बिगार्छ ? मानव स्वास्थ्यमा के असर गर्छ बुझ्दै गएका छन्। जुनकारण अबको समय अग्र्यानिक कृषि उपज उत्पादनको हो। जसको लागि प्रांगरिक मल उत्पादनमा जोड दिनु हो।” 

सामान्य लेखपढ मात्रै गरेका ठकुराठी यसअघि परम्परागत कृषि पेशामा मात्रै आश्रित थिए। तर कृषिभित्र पनि फरक र नयाँ व्यवसाय गर्ने सोच हुँदाहुँदै पनि आफूसँग प्रयाप्त लगानीको स्रोत नहुँदा उनी आफ्नो इच्छालाई दबाएर बसेका थिए।

तर जहाँ इच्छा, त्यहाँ उपाय भने झै २ वर्ष अगाडि सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलले प्रांगरिक मल उत्पादनको लागि गड्यौला पालनको अनुदान कार्यक्रम सम्बन्धी सूचना जारी गरेको थियो। त्यही सूचना देखेपछि आफूलाई गड्यौला पालन व्यवसायतर्फ दोहोर्‍याएको ठकुराठी बताउँछन्। 

उनले अगाडि थपे, “कृषिभित्रै, त्यो पनि गाउँघरमै केही नयाँ गर्न सकिन्छ कि भनेर इच्छा दबाएर बसेको थिए। निर्देशनालयको सूचनापछि भाग्य नै खुलेझै लाग्यो। निर्देशनालयका निर्देशक यज्ञराज जोशीको मार्ग निर्देशनपछि व्यवसाय नै थालियो।”

आम्दानीले थप्यो उत्साह
उनी २०६७ बैशाखदेखि गड्यौला पालन व्यवसाय सुरुवात गरेका हुन्। आफ्नो व्यक्तिगत १ लाख २५ हजार र नेपाल सरकारको साढे ३ लाख अनुदान गरी उनी पहाडी जिल्लामा पहिलो पटक गड्यौला पालन व्यवसाय थालेका ठकु्राठीको भनाइ छ। 

सुरुवाती अवस्थामा १२ किलो गड्यौला बीउ काठमाडौंबाट ल्याएर उनले व्यवसाय सुरुवात गरेका हुन्। जुन बिउ उनले प्रति किलो २ हजार ५ सय रुपैयाँमा खरिद गरेर ल्याएका थिए। सुरुवाती पहिलो वर्षमा ८० किलो गड्यौला र ३० क्वीन्टल मल उत्पादन भएपछि आफू निकै उत्साहित भएको ठकुराठी सुनाउँछन्।

उनले उत्पादन गरेको मलको स्तरीकरणसँगै प्रति क्वीन्टल ३ हजार ५ सय रुपैयाँ दररेट कृषि ज्ञान केन्द्र डडेल्धुराले नै निर्धारण गरिदिएको छ। जसको आधारमा उनले गत वर्ष साढे ५२ हजार रुपैयाँ बराबरको गड्यौला मल तथा प्रांगरिक मल बिक्री गरेका थिए।

चालु वर्षमा भने उनले ६० क्वीन्टल मल उत्पादन गरेका छन्, भने साढे २ क्वीन्टल गड्यौला उत्पादन गरेका हुन्। चालु वर्षमा ४ देखि ५ लाखसम्म कारोबार गर्ने ठकुराठीको लक्ष्य छ। गड्यौला र गड्यौलाको बजार माग बढ्दो रहेको बताउँदै उनले व्यवसायलाई थप प्रविधिमय बनाएर बढाउने जाने जनाए।

पहाडमा गड्यौला पालन सिकाउँदै
पछिल्लो समय सरकारी अनुदानलाई अधिकांशले गरिखाने मेसोको रुपमा लिएको पाइन्छ। अनुदान पाउञ्जेल गर्ने। नपाएपछि छोड्ने परिपाटी उत्तिकै बढी छ। तर समाजमा रहेका ठकुराठी जस्ता युवा पुस्ताले सरकारी अनुदानलाई भरपुर सदुपयोग गरेर सफल उद्यमीको रुपमा आफूलाई उभ्याउन थालेका छन्। समाजमा उदाहरणीय समेत बनेका छन्। 

अब ठकुराठी सुदूर पहाडमा आफू मात्रै होइन, अरुलाई गड्यौला पालन व्यवसाय सिकाउन थालेका छन्। चालु वर्षमा आफूलाई देखेर २७ जना युवाहरु गड्यौला पालनतर्फ अग्रसर भएको उनी सुनाउँछन्।

सरकारी अनुदानको सदुयोगमा जोड दिदै ठकुराठी भन्छन् “हामीसँग स्रोत साधनको अभाव छ। हामी किसान स्वावलम्बी मान्छे हौ। तर गरिबी छ। आर्थिक स्रोत नहुँदा अनुदानको भर पर्नुपर्ने बाध्यता हुन्छ। तर अनुदानलाई सही सदुपयोग गर्नुपर्छ। राज्यको अनुदानलाई पहुँचको भरमा लिने हो भने नत राज्यको लगानीको सदुपयोग हुन्छ, नत उ वास्ताविक किसान बन्न सक्छ। जसबाट राज्यको अनुदान दुरुपयोग हुन पुग्छ। त्यसता कार्यलाई निरुत्साहित गर्नुपर्छ।”

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस