सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लामो निषेधाज्ञाले पनि अनियन्त्रित संक्रमण

२०७८ जेठ ३०, ०७:०३ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग र आइसोलेसनको व्यवस्था नहुँदा लामो निषेधाज्ञापछि पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन। 

प्रदेशमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको डेढ महिना पूरा भएको छ। तर संक्रमणको दरमा भने कमी आउन सकेको छैन। 

कोरोना भाइरसको संक्रमण दर असामान्य रूपमा बढ्न थालेपछि प्रदेशमा वैशाख १६ गतेदेखि निरन्तर रूपमा निषेधाज्ञा जारी छ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञासँगै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी गरी बढीभन्दा बढी परीक्षण गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा परीक्षणको दायरा घटाइएको पाइएको छ।

निषेधाज्ञा जारी भएको पहिलो साता प्रदेशमा संक्रमण दर ४० प्रतिशत रहेको थियो भने, एक महिनाको अवधिमा  संक्रमण दर ३१ प्रतिशतमा झरेको थियो। अहिले निषेधाज्ञाको डेढ महिना पुग्दा समेत संक्रमण दर ३१ प्रतिशत नै रहेको पाइएको छ।

कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेकाले संक्रमण दर शुन्यमा झार्न निषेधाज्ञासँगै कन्ट्याक्ट ट्रेसिङ्ग र आइसोलेसनको प्रभावकारी व्यवस्था गरिनुपर्ने चिकित्सकहरूको सुझाव छ। 

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले गाउँ–गाउँमा कोरोना संक्रमितहरू भएकाले निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण नहुने बताए। 

’गाउँ–गाउँमा कोरोना संक्रमितहरू छन्’ उनले भने, ’उनीहरूको सम्पर्क खोजी भएको छैन र संक्रमितहरूलाई आइसोलेट गर्ने काम पनि भएको छैन। जसले गर्दा सोचे जति संक्रमणको दरमा कमि नआएको हो।’ 

निषेधाज्ञाको अवधिमा बजार, होटल व्यवसाय र यातायातलगायत सम्पूर्ण क्षेत्रहरू भने डेढ महिनादेखि पूर्ण रूपमा ठप्प छन्। उनीहरू आर्थिक रूपले मारमा पर्न थालेका छन्। 

अटो, टेम्पो तथा इ–रिक्सा संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका इ–रिक्सा संघ कैलालीका अध्यक्ष मीनराज जोशीले जारी निषेधाज्ञाले सवै व्यवसायी जस्तै होटल व्यवसाय र यातायात व्यवसायीहरू र मजदूरहरू मारमा परेको बताए। 

’इ–रिक्सा धनीहरूले एक÷दुई महिनासम्म रिक्सा थन्क्याउनु पर्दा ब्याट्री बिग्रेर ठूलो क्षति भएको छ’ उनले भने, ‘भाडामा चलाउनेहरूलाई त झन जीविकोपार्जन गर्नै समस्या भएको छ। गत वर्षको लकडाउनको पीडाबाट राम्रोसँगै उम्किन नपाएका उनीहरू जारी निषेधाज्ञाले झनै प्रभावित भएका छन्।’  

सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा निष्प्रभावी देखिएको छ। 

गत वर्ष प्रदेशमा कोरोना संक्रमितहरूको सम्पर्क खोजी र उनीहरूलाई आइसोलेसनमा राख्ने काम गरिँदा असारसम्म कोरोना केही नियन्त्रण भएको पाइएको थियो। तर यस वर्ष भने त्यसतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन भने, संक्रमण दर पनि घट्न सकेको छैन। 

उता स्थानीय प्रशासनले असारदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी थालेको छ। तर विज्ञहरूले भने पहिलो संक्रमितहरूको सम्पर्क खोजी, आइसोलेसनको निर्माण र परीक्षणको दायरा बढाएर मात्र निषेधाज्ञा खुकुलो पार्न सुझाएका छन्।   
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस