सुदूर नेपाललाई विश्वसँग जोड्दै

२७ वर्षदेखि ह्वियल चेयरमा मदन पुरस्कार विजेता नरबहादुर

मेरो कथा : श्रृंखला ०९

२०७५ कार्तिक ९, ०६:५९ आरजु

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जिवन
जस्तो भोग्यो उस्तै हुन्छ,रोजे जस्तो हुन्न जिवन
तारादेवीको स्वरमा सजिएको कालजै गीतका माथि उल्लेखित पङ्तिहरुले भने जस्तै धेरैले सोचे जस्तो हुन्न जिवन, न त सम्झे जस्तो हुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामका नरबहादुर साउँदको पनि न सोचे जस्तो जिवन भयो न त सम्झे जस्तो नै।  २०४६ सालमा सहायक स्याउ उत्पादन अधिकृतका रूपमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् खुमलटारबाट सेवा सुरू गर्दा उनलाई त्यसपछिका दिन सुखमय होलान भन्ने आशा थियो। दुग्ध विकास संस्थानको प्राविधिक अधिकृतको जागिर पाएपछि परिवारको दैनिकी पनि फेरिन्छ भन्ने विश्वास पनि पलाएको थियो। तर सरकारी जागीर खाएको बर्ष दिनमै उनका सवै सपना चकनाचुर भए। 

उनी २०४८ मै संस्थानमा कार्यरत थिए। सुर्खेतमा आयोजना हुने एक तालिमका सहभागीलाई प्रशिक्षण दिन दुग्ध विकास संस्थानकै गाडीमा साउँद बुटवलबाट हिडे। अवेर रातिको कुरा हो, चालकले मदिरा सेवन गरेर गाडी हाकिरहेका थिए। उनको मनमा डरको चिसो पसिसकेको थियो। नभन्दै नवलपरासीको कुस्मामा उनी दुर्घटनामा परे। उनको शरिरको तल्लो भागमा गम्भीर चोट लाग्यो। ६ महिनासम्म भारतको दिल्लीमा उपचार गराउदा पनि निको नभएपछि ह्वियल चेयरको जिन्दगी लिएर साउँद नेपाल फर्किए। कम्मरमुनि नचल्ने गरी अशक्त भएपछि माइती गएकी श्रीमती २७ बर्ष भयो फर्किएकी छैनन्।

आमा धर्मादेवी र बुबा धनबहादुर साउँदका पहिलो सन्तानका रुपमा २०१९ साल फागुन ४ गते बैतडी जिल्लाको साविकको रिम गाविसको बन्डामा जन्मिएका साउँदले कक्षा १० सम्मको औपचारिक अध्ययन रिमकै पञ्चदेव महानन्द हाइ स्कुलमा गरे। कृषि तथा पशु विज्ञान निर्देशनालय रामपुर चितवनबाट विज्ञासन संकायमा प्रविणता तह सम्मको अध्ययनपछि छात्रवृत्ति कोटामा छनौट भएपछि कृषिमा स्नातक सम्मको अध्ययन उनले भारतको हिमाञ्चल प्रदेश कृषि विश्व विद्यालयमबाट गरेका हुन्। 

कृषि विज्ञानमा बिएस्सीसम्मको अध्ययन गरेका साउँदले नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा समेत एक वर्ष काम गरे। त्यसपछि दुग्ध विकास संस्थानमा जागिरे हुन पुगे तर दैवको लिला त्यहाँ जागिर लागेको छोटो समयमै उनी दुर्घटनाको सिकार हुन पुगे। २७ वर्षदेखि ह्वियल चेयरको जिवन जिइरहेका नरबहादुर एक कुसल कृषि प्राविधिकका रुपमा पनि परिचित व्यक्ति हुन्। औपचारिक अध्ययनका क्रममा आर्जन गरेको ज्ञानलाई पत्रपत्रिका, लेख रचना तथा पुस्तकका माध्यमबाट उनले समाजलाई बाड्ने प्रशस्त प्रयास गरेका छन्। नेपालका बालीनाली र तिनको दिगो खेती नामक पुस्तक लेखेर २०६६ सालमा मदन पुरस्कारबाट समेत सम्मानीत भएका साउँदले कृषि सम्बन्धी थुप्रै अन्य पुस्तकहरु पनि लेखेका छन्। ओछ्यानमै पल्टेर उनले कृति तयार पारेका थिए। करिब १० वर्ष लगाएर पुस्तक तयार भएको हो।

त्यसमध्ये केही प्रकाशित भईसकेका छन् त केही पुस्तक प्रकाशनको तयारी छ। सङ्गम च्याउखेती, हाम्रो खेती (प्राथमिक तहका विद्यार्थीलाई केन्द्रित गरेर लेखिएको पुस्तक) उनका प्रकाशित पुस्तक हुन्। माटोलाई आमा समान मान्ने साउँद नेपाली किसानहरु माँझ कृषि प्रविधि पुग्न नसकेको कुरामा सधै चिन्ता व्यक्त गर्छन्। नेपाली किसानहरुलाई खेती गर्ने तरिकाबारे सिकाउन र प्रविधिको विकास गर्न आवश्यक रहेको उनी ठान्छन्। 

प्रविधि थाहा नभएकै कारण कृषिमा थुप्रै सम्भावना हुदा हुदै पनि देश पछाडी परेको भन्दै साउँदले चिन्ता व्यक्त गरे। उनको खुबीलाई यहाँका सम्बद्ध पक्षले अहिलेसम्म प्रयोग गर्न सकेका छैनन्। दुर्घटनामा परेर दुई वर्ष खिन्न भएर खाली बसेका साउँदलाई सुरुका दिनमा अपाङ्गता भएको व्यक्ति भन्दै समाजका केही व्यक्तिहरुले होच्याउने गर्थे। जब उनको पुस्तक नेपालका बालीनाली र तिनको दिगो खेतीले मदन पुरस्कार पायो त्यसपछि समाजमा सम्मान मिल्न थाल्यो। मदन पुरस्कार विजेता भएपछि आफ्नै जीवनसँग दिक्क भएका साउँदको कलममा उर्जा थपियो। अहिले उनको अधिकांश समय लेख्न पढ्नमै बित्ने गरेको छ। 

                                     आमा धर्मादेवीको साथमा साउँद 

उनले आफू सुत्ने कोठामा अनेक किसिमका पुस्तकहरु राखेका छन्। तिनै पुस्तकहरु आसपासमा एउटा ल्यापटप छ। कुनै विषयमा केही लेख्न मन लाग्यो भने कम्प्युटर खोल्दै लेख्न सुरु गर्छन्। उनको कलम कृषि क्षेत्रमा मात्र होईन कला साहित्यमा पनि चल्छ तर अली कम। विकृति विसंगतिका विरुद्ध बढि जसो उनका साहित्यिक लेख रचना केन्द्रित हुन्छन्। डोटेली साहित्यमा पनि उनको कलम चल्छ। 

अपाङ्गता भएर पनि आफ्नो जिवनप्रति रतिभर पनि गुनासो नरहेको बताउने साउँदको परिवारमा उमेरले नेटो काटिसकेका आमाबुबा, बहिनी र भाईको छोरा छन्। मिलनसार स्वभावका भाईलाई दैवले केही वर्ष पहिले मात्र नफर्किने गरी चुडेर लगेको हो। उमेरको उत्तरार्धमा पुगेकी आमा पनि विरामी परेको तीन वर्ष भन्दा बढि भइसक्यो। तरपनि उनलाई जिवनसँग कुनै गुनासो छैन्। भेट्न पुग्ने जो कोहीलाई पनि उनी मन्द मुस्कानले स्वागत गर्छन।

कमेन्ट लोड गर्नुस