सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वासको मत पाउने बित्तिकै ‘नालायक मुख्यमन्त्री’ कसरी ‘महान्’ बन्छन् ?

२०७८ जेठ २८, ०७:२०

सीके भट्ट
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको भागबण्डा हुँदा सुदूरपश्चिम माओवादीको भागमा परेका डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टले मुख्यमन्त्री हुने मौका पाए। जनताको पीरमर्का बुझेका व्यक्ति मुख्यमन्त्री भएकाले जनताले धेरै आशा गरे। तर मुख्यमन्त्री भट्ट खरो उत्रिन सकेनन्।

२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले ३ वर्षभन्दा बढी प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । ‘चौकीदार’ पृष्ठभूमिबाट आएका मुख्यमन्त्री भट्टले शपथ ग्रहणलगत्तै भनेका थिए, ‘सुदूरपश्चिमका युवाले चौकीदार गर्न भारत जानु नपर्ने गरी काम गर्नेछु, रोजगारी सिर्जना गर्नेछु।’ तर कोरोना भाइरस संक्रमणको महामारीका बेला रोजगारीका लागि भारततिर जान गौरीफन्टा र गड्डाचौकी नाकामा लागेको युवाको लामले मुख्यमन्त्रीलाई नंग्याइदिएको छ । सुदूरपश्चिमका जनताले चौकीदार मुख्यमन्त्री त पाए तर न रोजगारी पाए, न सेवासुविधा।

मुख्यमन्त्री भट्टले कोरोना महामारीको बेला जनतालाई सहानुभूति दिन एउटा वक्तव्यसम्म जारी गर्न सकेनन्। प्रदेशको पहिलो मुख्यमन्त्री भएकाले प्रादेशिक मन्त्रालय र कार्यालयका भौतिक संरचना बनाउने कुरा अलपत्र छ। आफ्नो कार्यालय नै बनाउन नसक्ने प्रदेश सरकारको नेतृत्वबाट अरु के अपेक्षा गर्ने ? प्रदेशको नेतृत्व यसरी निकम्मा भएर बस्न मिल्छ ?

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए। नजिकको सरकारले जनताका पीरमर्का बुझ्ने अपेक्षा गरिएको थियो। तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू झण्डा हल्लाउनमै व्यस्त छन्। कोरोना महामारीको त्रासले जनताको दिमाग खल्बलिएको छ, हल्लिएको छ। तर मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारले केही गरेको देखिँदैन ।

बिडम्बनाको कुरा त के भने सुदूरपश्चिमका युवाहरू कोरोना महामारीका बेला पनि भारततिर गइरहेका छन्। घरपरिवार पाल्न र आर्थिक जोहो गर्न युवाहरूले भारतको भर पर्नुपरेको छ। ३ वर्ष पूरा गरिसकेको प्रदेश सरकारले समग्र युवाका लागि कुनै खास रोजगारीका कार्यक्रम ल्याउन सकेको छैन। मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकार जनताका लागि ‘आकाशको फल’ भएको छ ।

जनताले केही नपाए पनि मुख्यमन्त्री र मन्त्रीहरू आफ्नो कुर्सी जोगाउन अनेक हत्कण्डा अपनाइरहेका छन्। सांसदहरू पार्टीका निर्देशन उल्लंघन गरिरहेका छन्। विभाजित भइसकेका पार्टीहरू पदीय स्वार्थ मिलेपछि एकै भएर बसेका छन्। कुर्सी जोगाउन एकजुट भएका सुदूरपश्चिमका सांसदहरू जनतालाई सेवासुविधा दिने मामिलामा कहिले एकीकृत होलान् ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको भागबण्डा हुँदा सुदूरपश्चिम माओवादीको भागमा परेका डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टले मुख्यमन्त्री हुने मौका पाए। जनताको पीरमर्का बुझेका व्यक्ति मुख्यमन्त्री भएकाले जनताले धेरै आशा गरे। तर मुख्यमन्त्री भट्ट खरो उत्रिन सकेनन्।

जनस्तरमा मुख्यमन्त्री भट्ट लगायत प्रदेश सरकारको निकम्मापनको चर्काे विरोध भइरहेको छ। तर प्रदेश सभामा सोही सरकारले विश्वासको मत पाएको छ। प्रदेश सभामा रहेका सांसदले जनताको भावनाको सम्मान किन गर्दैनन् ? के जनताले आजका मितिमा त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई विश्वास गरेका छन् ? पार्टीको चक्कर, पदको लोभ र स्वार्थमा परेका सांसदले विश्वासको मत दिए भन्दैमा जनताले मुख्यमन्त्री भट्टलाई विश्वास गर्लान् ?

जनताको भावना र आवश्यकतालाई कुल्चेर राजनीति नितान्त गणितीय र प्राविधिक पाटोमा अल्झिएको छ। त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत पाउँदैमा जनताले सेवासुविधा पाउँछन् ? युवाले रोजगारी पाउँछन् ? वृद्धवृद्धाले उपचार पाउँछन् ? कोरोना महामारीका बेला जोखिम मोलेर भारततिर जानु पर्दैन ?

प्रदेश सभाको गणितले जनताको जीवनमा खासै असर गर्ने देखिँदैन। जनतालाई सुविधा बढाउन नसक्ने र जनताको आवश्यकता पूर्ति गर्न नसक्ने विश्वासको मतको के अर्थ ? प्रदेश सरकारमा नालायक नेतृत्व टिकिराख्नुको के अर्थ ? त्रिलोचन भट्ट नेतृत्वको सरकारले गरेका सम्झिन लायक एक–दुई वटा कामहरू के–के हुन् ? कसैले भन्न सक्छन् ? केही छैनन् ।

विगत ३ वर्षभन्दा बढी अवधिसम्म नालायकी प्रदर्शन गरेका मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत पाउँदा कतिपयले सामाजिक सञ्जालमा सफल र महान् मुख्यमन्त्री भनेर शुभकामना दिए। संविधानको मर्म, राजनीतिकर्मीको कर्तव्य र जनताको भावना अनुसार कुर्सी जोगाउनु मात्रै सफल र महान् हुनु हो ? मुख्यमन्त्री भट्टले विश्वासको मत पाएर जनताले के पाए ? के पाउँछन् ? जनताका लागि यी मुख्यमन्त्री निरर्थक छन्, संघीयताका बोझ बनेका छन्।

(लेखक–माओवादी केन्द्र कञ्चनपुरका नेता हुन्। लेखमा उल्लेखित उनको निजी विचार हो।)

कमेन्ट लोड गर्नुस