सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका यातायात व्यवसायी भन्छन्, ‘निषेधाज्ञा खुलेपनि सवारीसाधन सुचारु गर्न सकिने अवस्था छैन'

२०७८ जेठ २७, ०३:१९ खबर संवाददाता

धनगढी: कोरोना महामारीका कारण जारी भएको निषेधाज्ञाका कारण आफ्नो व्यवसाय धरासय बनेका कारण अब यातायातका साधन सुचारु गर्न कठिन भएको डडेल्धुराका यातायात व्यवसायीले बताएका छन्। 

गत वर्ष भएको लकडाउन खुलेपछि व्यक्तिगत खर्च समेत उठाउन नसकेका बेला दोस्रो चरणको निषेधाज्ञाका कारण आफुहरु अब बैंक ब्याज तथा कर तिर्न नसक्ने अवस्थामा पुगेको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिले जनाएको छ। 

बिहीबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको प्रालिले गत वर्षको लकडाउन पश्चात कुनैपनि सुविधा नपाएको र उक्त अवधिको बैंक ब्याज/ऋण किस्तासमेत तिर्नुपरेको गुनासो गरेको छ। 

प्रालिका अध्ययक्ष मानबहादुर साउदद्वारा हस्ताक्षति ज्ञापनपत्रमा भनीएको छ ‘दैनिक आम्दानीबाट सवारी सधानको किस्ता, मर्मत, विमा लगायतका भैपरी आउने खर्चहरु कटाई बचत रकमबाट आफ्नो परिवारको पालनपोषण गर्ने व्यवसायीहरु आर्थिक संकटमा रहेको र दैनिक जीवनयापनमा समेत समस्या भइरहेको अवस्थामा सरकार तथा बैंक वित्तिय संस्था संवेदनशिल नभएको हामी यातायात व्यवसायीहरुको ठहर छ।’

उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिले सरकारले अब यातायात व्यवसायी तथा मजदुरलाई राहतको व्यवस्था गरे मात्रै पुनः सवारीसाधन सुचारु गर्न सकिने बताएको छ। ‘हामी यातायात व्यवसायीहरुले पुनः सवारी साधन संचालनमा ल्याउनमा नै मर्मत संभारमा ३ देखि ५ लाख जति खर्च हुने अवस्था पुनः सृजना भएको छ। तसर्थ हाम्रो यो व्यवसायलाई पुनः चलायमानका लागि विगत २०७६ चैत्रदेखि हाल लकडाउन खुलेसम्मको अवधीको बैंक कर्जा ब्याज मिनाहा, रुट परमिट, जाँचपास, सवारी कर, विमा छुटका साथै थन्कीएर रहेका सावरी साधनहरुको मर्मत संभार बाफतको सहुलियत ऋण कर्जा, लकडाउन खुलेको ६ महिना पछि बैंक किस्ता सुुरु,  मजदुर व्यवसायीहरुलाई राहातको व्यवस्था गर्ने भएमा मात्र सार्वजनिक यातायात संचालनमा ल्याउन सकिने कुरो अवगत गराउन चाहान्छौं’ ज्ञापनपत्रमा भनीएको छ।

साथै प्रालिले यदि आफूहरुको माग सम्बोधन नभए सम्पूर्ण सवारी साधनहरु बैंक तथा वित्तिय संस्थाहरुको आँगनमा खडा गरेर साँचो बुझाई आफ्नो लगानी फिर्ता लिने माग गर्न आन्दोलित हुने चेतावनी समेत दिएको छ। 

कमेन्ट लोड गर्नुस