सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको बस्खेत खोलामा बाढी, एक दर्जन बढी घरमा क्षति

२०७८ जेठ २७, १२:४५ खबर संवाददाता

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेतमा खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्‍याएकाे छ। गएराति परेको अविरल वर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्‍याएकाे स्थानीय भोजराज भट्टले जानकारी दिए।

डोजरले खनेको सडकको माटो बस्खेत खोलामा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्‍याएकाे उनले बताए। 

‘बाढीले स्थानीय मुन्ना लुहारको आधा घर बगाएको छ। घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेको छ’ उनले भने ‘खोलामा एक्कासी आएको बाढीले घरहरुमा क्षति पुर्‍याएकाे छ। सडकमा नाली नहुँदा सडकको माटो सबै बगेर आउँदा बढी क्षति भएको छ।’

यस्तै खोलामा आएको बाढीले स्थानीय हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ। अविरल बर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी,रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन्। 

प्रहरीले बाढी आएको खबरपछि टोलीलाई घटनास्थलतर्फ पठाएको बताइरहेको छ। प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले बताए। 

जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस