सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको युवा लक्षित स्वरोजगार कार्यक्रम प्रभावहीन, युवा रोजगारीका लागि भारत जाँदै

२०७८ जेठ २७, ०८:०८ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको कोरोना लक्षित युवा स्वरोजगार कार्यक्रम प्रभावहीन देखिएको छ। 

मन्त्रालयले पहिलो लहरको कोरोना भाइरस फैलिएर विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न युवा लक्षित कृषि स्वरोजगार कार्यक्रम ल्याएको हो। 

मन्त्रालयले कार्यक्रम कार्यान्वयनको लागि मापदण्ड बनाएको थियो। मापदण्डमा पशु विज्ञ ज्ञान केन्द्रतर्फ स्वरोजगार बन्न चाहने युवाहरूले स्वीकृत कार्ययोजना प्रस्तावका आधारमा गाईभैँसी पालन गर्न ६० हजार, बाख्रा, बङ्गुर र कुखुरा पालनका लागि ४० हजार र माछा पालन गर्न ३० हजार अनुदान पाउने उल्लेख गरिएको छ। 

त्यस्तै कृषि ज्ञान केन्द्रतर्फ तरकारी, फलफूल, च्याउ खेती, पुष्प खेती, मौरी पालन र नर्सरी व्यवसायको लागि ३० हजार अनुदान दिने उल्लेख छ। 

तर अनुदान रकम न्यून भएको र मन्त्रालयको मापदण्ड चित्त बुझ्दो नभएको भन्दै युवाहरू रोजगारीको लागि महामारीकै बिच भारत पलायन हुन बाध्य भएका छन्। उक्त कार्यक्रम सञ्चालनका लागि सुदूरपश्च्मि सरकारले चालु आर्थिक वर्षमा छुट्याइएको बजेटमध्ये आधा रकम फ्रिज जाने निश्चित भएको छ।

कृषि ज्ञान केन्द्र कैलालीले सम्झौता गरिएका ८८ कार्यक्रम सञ्चालनमा ल्याइएको दाबी गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले यी कार्यक्रमका लागि जनही ३० हजार रकम हस्तान्त्रण गरिएको बताए। “कृषि ज्ञान केन्द्र कैलालीका लागि मन्त्रालयले यस वर्ष ४० लाख विनियोजन गरेको थियो,” उनले भने, “जसमध्ये ८८ कार्यक्रमका लागि जनही ३० हजार रकम हस्तान्त्रण गरिएको छ। आधा बजेट फ्रिज जाने देखिएको छ।” 

पशु सेवा विज्ञ केन्द्रमार्फत पशु पालन कार्यक्रममा अनुदानका लागि मन्त्रालयले आवेदन पनि माग थियो। कैलालीका सबै स्थानीय तहबाट पहिलो चरणमा पशु सेवा विज्ञ केन्द्रमा १२ हजार ८ सय ५९ जनाले पशुपालन गर्ने इच्छापत्र पेश गरेका थिए। तर स्वरोजगार कार्यक्रम कार्यविधिको अनुसूची ३ अनुसार कार्ययोजना सहित ४ सय ४१ जनाको मात्रै दोस्रो चरणमा आवेदन आएको बताइएको छ। 

पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर बसन्त बहादुर सिंहले अधिकांश कार्यक्रम सञ्चालनमा भइरहेको बताए। 

मन्त्रालयले केन्द्रलाई १ करोड ८५ लाख बजेट अनुदानमा उपलब्ध गराएको छ। सो रकममध्ये पनि २०/२५ लाख रकम फ्रिज जाने पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर बसन्त बहादुर सिंहले बताए।

कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवा लक्षित स्वरोजगार कार्यक्रमका लागि मन्त्रालयले प्रदेशका ९ वटै जिल्लाका कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रलाई गरी कुल १५ करोड विनियोजन गरेको छ। मन्त्रालयका अनुसार स्वरोजगारको लागि कृषि तथा पशुपालनतर्फ व्यावसाय गर्न इच्छापत्र आह्वान गरिएकोमा ८१ हजार इच्छापत्र संकलन थियो। सो इच्छापत्रको आधारमा सुदूरपश्चिका २१ वटा कृषि ज्ञान केन्द तथा पशु विज्ञ केन्द्रमा बजेट बाँडफाड गरिएको बताइएको छ। 

प्रदेश सरकारले कोरोना प्रभावित विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी दिन स्वरोजगार कार्यक्रम ल्याएको हो। तर अनुदान रकम न्यून र मन्त्रालयको मापदण्ड चित्त बुझ्दो नभएको भन्दै युवाहरू रोजगारीको लागि महामारीकै बीच भारत पलायन हुन बाध्य भएका छन्। 
प्रदेशमा स्वरोजगार कार्यक्रम लागु गरिएपनि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर अहिले दैनिक १ हजारको संख्यामा नेपालीहरू भारत पलायन हुन बाध्य छन्।  
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस