सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुलाकी सडकको ६ किलोमिटर सडक निर्माणको काम ७ महिनादेखि अलपत्र

२०७५ कार्तिक ८, ०६:०४ सीताराम ओझा

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गतको कैलाली कञ्चनपुर जोड्ने झण्डै ६ किलोमिटरको निर्माण कार्य सात महिनादेखि अलपत्र परेको छ । धनगढीको मुख्य बजारको दक्षिणतिर क्याम्पस चौकदेखि भन्सारसम्मको ६ किलोमिटर सडक निर्माणका लागि सर्वेको काम भईरहँदा स्थानीय वासिन्दाको अवरोध र अदालतमा मुद्धा हालेपछि निर्माणको काम अलपत्र परेको हो । सर्वेमा गएका निर्माण कम्पनीका कर्मचारीमाथि स्थानीयले हातपात र दुव्यवहार गर्दै काम गर्न नदिएपछि काम ठप्प भएको छ । सात महिनादेखि सडक निर्माणको काम अवरोध हुँदा समेत जन प्रतिनिधिहरुले चासो देखाएका छैनन् । 

कैलाली र कञ्चनपुर जिल्लामा हुलाकी राजमार्ग निर्माण सुरु भएको ९ बर्ष हुन लागेको छ । तर त्यसको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको छ । तराई क्षेत्रको आर्थिक समृद्धिका लागि सुरु गरिएको हुलाकी सडकको काम निकै सुस्त गतिमा भईरहँदा कैलाली जिल्लामा अझै २४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेकोमा कञ्चनपुरमा भने अहिलेसम्म कालोपत्रे समेत सुरु भएको छैन् । कैलाली जिल्लामा वसन्ता क्षेत्रमै पर्ने २ किलोमिटर सडकको अहिलेसम्म वातावरणीय प्रभाव मुल्याङकनको काम फेरि गरिएको छ । पहिले गरिएको वातावरणीय प्रभाव मुल्याङकनमा त्रुटी भेटिएपछि फेरी वातावरणीय प्रभाव मुल्याङकनको काम सकिएको छ तर निर्माणको काम अगाडी वढेको छैन् । झण्डै ५ सय रुखहरु बढी काट्नुपर्ने भएकाले फेरि वातवरणीय प्रभाव मुल्याङकन गरिएको छ । त्यसैमा हाल आएर धनगढीको क्याम्पस चौकदेखि भन्सारसम्मको ६ किलोटिमर सडकको प्रक्रिया अगाडी बढाउँदा स्थानीयले अवरोध गर्दै मुद्धा हालेपछि त्यो काम सात महिनादेखि रोकिएको छ 

कैलालीमा आर्थिक बर्ष २०६६÷६७ मा र कञ्चनपुरमा आर्थिक बर्ष २०७२÷०७३ मा निर्माण सुरु गरिएको हुलाकी सडक आयोजनाको निर्माण सुस्त गतिमै भईरहेकै वेला दुवै जिल्लालाई जोड्ने ६ किलोमिटर सडक सात महिनादेखि काम गर्न नसकेका कारण अलपत्र परेको हो । गत चैत २७ गते २३ करोड ११ लाख २४ हजारमा ठेक्का सम्झौता गर्दै सर्वेको काम थालेको रमन केएस जेभीलाई स्थानीय वासिन्दाले अवरोध गरेपछि काम अगाडी वढ्न नसकेको निर्माणको जिम्मा पाएको रमन केएस जेभीका निर्माण व्यवसायी सुरेन्द्र पालले जानकारी दिए । स्थानीयले अवरोध गरेपछि गत वैशाख २० गते नै हुलाकी सडक आयोजनालाई पत्र लेखेर निर्माण कम्पनीले अवरोध हटाई दिन आग्रह गरेको थियो । तर हुलाकी सडक आयोजनाले पहल नगरेर काम अगाडी नवढेकै वेला अधिकांश विकासे काममा मुद्धा हालेर अवरोध पुराउँदै आएका चित्रवहादुर कार्कीकी छोरी अर्चना कार्कीले कैलाली जिल्ला अदालतमा निर्माण कार्य रोक्न आदेश माग्दै गत जेठ २७ गते मुद्धा हालेपछि थप समस्या सिर्जना भएको हो । अदालतले आदेश किन हुनु नपर्ने भनेर जवाफ मागेपछि त्यसको जवाफ दिईदै वहस हुँदा समेत अदालतले मुद्धाको फैसला गरेको नगरेको हुलाकी सडक आयोजनाका निमित्त आयोजना प्रमुख नरेन्द्र ओझाले बताए ।

दुई वर्षको निर्माण अवधि रहेकोमा ६ महिनासम्म काम गर्न नसकेको र समयमै काम सम्पन्न गर्न नसकिने भएकोले छिट्टो अवरोध हटाएर काम गर्ने वातावरण मिलाई दिन फेरि निर्माण कम्पनीले आयोजना कार्यालयलाई दो्रसो पटक पनि पत्र लेखेको थियो । तर आयोजना कार्यालयले पनि तदारुकता नदेखाएका बेला जन प्रतिनिधिहरुले पनि त्यसमा चासो नदेखाएको निर्माणको जिम्मा पाएको रमन केएस जेभीका निर्माण व्यवसायी सुरेन्द्र पालले बताए  । सुदुरपश्चिमको समृद्धिसँग जोडिएको सडक निर्माणको काम सात महिनादेखि पनि रोकिदा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगै यसक्षेत्रवाट प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले समस्या हल गर्न पहल गरेका छैनन् । तर प्रतिनिधि सभा सदस्य नारदमुनि राना अव यसको लागि पहल गर्ने वताउँछन् । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस