सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल छनोट : नेपाल जोर्डनसँग पराजित

२०७८ जेठ २५, ११:२९ रासस

काठमाडौँ: सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। 

गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो। नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो। जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो। जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे।  जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ। तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो। यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे। नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो। 

इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेनुभएका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै पर्नुभएको थियो। खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए। उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरे।

कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो। दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो। खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेनन्। 

खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे। नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस