सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने

फाइल फोटोः कोरोना विरुद्धको खोप लगाउँदै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड
फाइल फोटोः कोरोना विरुद्धको खोप लगाउँदै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड
२०७८ जेठ २५, ०७:०९ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने भएको छ। 

प्रदेशका ९ वटै जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार डोज खोप पठाएको छ। जसमध्ये ४२ हजार नागरिकलाई भेरोसेल खोप लगाइने भएको हो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो डोजका लागि कैलालीमा १३ हजार ६१०, कञ्चनपुरमा ७ हजार ५७०, अछाममा ४ हजार १०२, बैतडीमा ३ हजार ७८०, दार्चुलामा ३ हजार २४३, बझाङ्गमा ३ हजार १६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २५८ र बाजुरामा भने दुवै डोजका लागि गरी ४ हजार ४४२ डोज खोप पुगिसकेको छ। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बाजुरामा पछि ढुवानी गर्न समस्या हुने भएकाले एकै चोटी पठाइएको बताए। 

स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका नागरिकहरूलाई लगाइने बताए। 

१ लाख ३० हजार बढीलाई कोभिशिल्डको दोस्रो डोज लगाउनै बाँकी
प्रदेशमा ३७ हजार नागरिकले यसअघि कोभिशिल्ड खोपको दुवै डोज लगाएका छन् भने, पहिलो डोज लगाएका १ लाख ३० हजार २०३ जनालाई दोस्रो डोज लगाउन अझै बाँकी रहेको छ। खोपको उपलब्धता नहुँदा साथै पहिलो डोज लगाएपछि अर्को डोज लगाउनुपर्ने समयावधि नपुगेकाले खोप लगाउन नसकिएको स्वास्थ्य निर्देशनालय डोटीले बताएको छ। 

जन स्वास्थ्यविद् डाक्टर सागर पौडेलले भेरोसेल खोपको पहिलो मात्रा लगाएपछि ६० देखि ७० प्रतिशत सुरक्षित हुने र दुवै डोज लगाएपछि कोरोना भाइरसको संक्रमणबाट ९९ प्रतिशत जोगिने बताए।

कोरोना भाइरस नयाँ रूप लिँदै वर्षैपिच्छे आउँदै गरेको छ। साथै संक्रमण दर र मृत्यु दर पनि बढिरहेको छ। 

कोरोना भाइरसको औषधी हालसम्म पत्ता लाग्न नसकेकाले एक मात्र विकल्पका रूपमा खोप देखा परेको छ। 

तसर्थ कोरोना भाइरसबाट दिघ्रकालिन मुक्तिका लागि छिटोभन्दा छिटो शत प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने विज्ञहरूको सुझाव छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस