धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतको १० किलोमिटर सडक निर्माणको काम ठप्प
धनगढी: धनगढीमा एसियाली विकास बैँकको क्रण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम ठप्प भएको छ।
आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले बजार क्षेत्रका १० किलोमिटरका ७ वटा सडक कालोपत्रेका लागि गत असारमा ठेक्का सम्झौता गरेको थियो।
सडक कालोपत्रेको ठेक्का पाएको भरतपुरको कालिका कन्ट्रक्सनसँग २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। तर सडक निर्माणको सम्झौता भएको एक वर्ष हुँदाअहिले काम ठप्प छ। सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले सबै सडकमा निर्माणको काम सुरु समेत गरेको छैन।
पहिलो चरणमा गत असारमा १० किलोमिटर लम्बाईका ७ वटा सडक ६८ करोड ५ लाख ९८ हजारमा निर्माण गर्नेगरी सम्झौता भएको थियो।
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि गत असारमा सम्झौता भएको थियो।
बैशाख १६ गते स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सडक निर्माणको काम पूर्ण बन्द भएका क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका प्रमुख प्रविन शाहले बताए। उनले भने, “लकडाउनपछि काम बन्द भएको छ। प्रशासनले काम गर्न दिने भनेपछि मजदुरलाई बोलाएका छौ। तर उहाँहरु आउनु भएको छैन। असार १ गते तिर आउछु भनेका छन्।”
कोरोना भाइरसको संक्रमणको त्रासले स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि कामदारहरु घर गएका हुन्। कामदार भारतीय भएकाले समेत काम सुचारु गर्न थप समस्या भएको निर्माण कम्पनीले बताएको छ।
वर्षातको समय सुरु हुन थालेकाले हिलो कम गर्न ग्रावेलसम्मको काम गर्ने कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले बताए। “वर्षातको समय सुरु हुँदैछ। हाम्रो सडकको काम हो। हिलो कम गर्न ग्रावेल गर्ने सोचेका छौ” उनले भने।
प्रशासनले काम गर्न नदिएकाले काम बन्द गर्नु परेको समेत उनले बताएका छन्। “प्रशासनले हामीलाई काम बन्द गर्न भन्यो। कामदारहरु घर गएका छन्। उहाँहरुलाई बोलाएका छौ त्यसैले तर ८÷१० दिन अझै लाग्ने देखिएको छ” उनले भने।
क्षेत्रीय शहरी विकास आयोजनाले कार्यान्वयन गरिरहेका सडकको चौडाई घटाएर सम्झौता भएको थिया आयोजना अन्तरगत सुरुमा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएको थियो। पछि लम्बाई घटाएर १० दशमलव १८ किलोमिटर मात्र कालोपत्रे गरिने गरि सम्झौता भएको हो।
यस्तै धनगढी चौराहदेखि क्याम्पस रोडसम्मको मुख्य सडकको चौडाई ३० मिटर कायम गरिएकोमा घटाएर २४ मिटर कायम गरिएको छ। शाखा सडक भने २४ मिटर भन्दा पनि कम चौडाईका हुनेछन्।
धनगढी उप–महानगरपालिकामा २३ वटा सडक कालोपत्रे गर्ने योजना रहेकोमा पहिलो चरणमा ७ सडक मात्र कालोपत्रे हुने क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाइले जनाएको छ।