सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चियो

२०७८ जेठ २१, ०९:०६ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चिएको छ। 

सुरूवाती दिनहरूमा प्रदेशभरी औषतमा दैनिक २ हजार जनाको नमूना परीक्षण गरिँदै आएकोमा अहिले दायरा घटेर दैनिक ५ सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको छ। थोरै परीक्षण हुँदा संख्यात्मक रूपमा कम संक्रमित देखिएपनि संक्रमणको दरमा भने खासै कमि आएको छैन। जेठ महिनाको अन्तिम साता संक्रमण दर ४५ प्रतिशत रहेको थियो भने, अहिले संक्रमण दर ४३ प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेशका सबै प्रयोगशालाहरूमा पीसीआर किटको अभाव हुन थालेको हो। 

सुदूरपश्चिम प्रदेशमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा घटेको पाइएको हो। प्रदेशमा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरी पीसीआर पद्धतिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ। 

यी प्रयोगशालाहरूमा समेत पीसीआर किटको मौज्दात कम हुँदा परीक्षण घटेको पाइएको छ। 

जिल्ला अस्पताल बैतडीको प्रयोगशाला प्रमुख श्यामराज जोशीले पर्याप्त किट नहुँदा परीक्षणमा समस्या भएको बताए।

'आपूर्तिले अर्डर गरेको समयमा अर्डर गरे जति किट पठाएन।' उनले भने, 'पर्याप्त किट नहुँदा सोचे जति परीक्षण गर्न सकिरहेका छैनौँ।'

पहिला १/२ हजार किट मौज्दात रहने गरेपनि अहिले ५/६ सयको संख्यामा मात्र किट मौज्दात रहेको उनले बताए।

जिल्ला अस्पताल बझाङ्गको प्रयोगशाला प्रमुख नरेश खड्काले जिल्ला अस्पताल बझाङ्गको प्रयोगशाला केही दिनलाई पुग्ने किट भएपनि मौज्दात कम हुँदा दैनिक परीक्षण कम हुने गरेको बताए।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा भने किटको उपलब्धता भएपनि कम नमूना संकलन हुँदा कम परीक्षण हुने गरेको बताइएको छ। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहीले किटको मौज्दात साविक बमोजिमनै भएको तर नमूना संकलनमा कमि आएका कारण कम परीक्षण हुने गरेको बताए।

अहिले निषेधाज्ञाले सम्भाव्य संक्रमितहरू परीक्षणका लागि प्रयोगशाला पुग्न नसक्दा पनि संक्रमितको संख्या कम देखिएको पाइएको छ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पनि २ हजार पीसीआर किट मौज्दात रहेको छ। यो मौज्दात निकै थोरै हो।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले पीसीआर किटको सहज आपूर्ति गर्न स्वास्थ्य सेवा विभागबाट १० हजार किट माग गरिएको बताए।

किट अभावका कारण थोरै परीक्षण हुँदा संख्यात्मक रूपमा कम संक्रमित देखिएपनि संक्रमणको दरमा भने खासै कमि आएको छैन। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस