सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका युवकले डडेल्धुराकी युवतीलाई बिहे गरी दिल्ली पुर्‍याए, त्यहाँ लगेर दिए पीडा नै पीडा

२०७८ जेठ २०, ११:१५ खबर संवाददाता

नयाँ दिल्लीः भारतको राजधानी दिल्लीमा डडेल्धुराकी एक युवतीको उद्दार गरिएको छ।

दिल्लीस्थित किसनगढमा आफ्नो श्रीमानबाट मानसिक यातना सहदै आएकी २२ वर्षीया युवतीको बुधबार उद्दार गरेको हो। 

आफन्त नेपाल नामक संस्थाको सक्रियतामा ती युवतीको उद्दार गरिएको हो। 

ती युवती ५ महिना अगाडी बैतडीका दीपक चन्दसँग मागी विवाह गरी भारत गएकी थिइन्। 

तर विवाहको १५ दिनपछिनै उनका श्रीमानले कुटपिट गर्ने गरेको ती युवतीले बताएकी छन्। उनका श्रीमानले पीडित महिलासँग दाइजो माग्ने, कुटपिट गर्ने र मानसिक यातना दिने गरेका थिए। उनका श्रीमानले ती युवतीलाई माईतमा फोनसमेत गर्न नदिएको र फोन गर्न खोज्दा फोन फुटाइदिएका थिए।

श्रीमानको मानसिक यातनाले सीमा नाघेपछि ती युवतीले आफ्नो दाजुलाई मलाई बचाउनुस् भनेर मेसेज गरेकी थिइन्। उनका दाजुले भारतस्थित आफन्त नेपाल नामक संस्थालाई सम्पर्क गरेपछि आफन्त नेपाल, भारतस्थित नेपाली दूतावास, दिल्ली महिला आयोग र दिल्ली पुलिसको सक्रियतामा उनको उद्दार गरिएको हो।

आफन्त नेपाल संस्थाका भारत प्रमुख नविन जोशीले झण्डै १५ घण्टाको प्रयासपछि उनको उद्दार गरिएको बताए। मानसिक रोगी जस्तो व्यवहार गर्ने उनका श्रीमानले उद्दारको क्रममा छुरा हान्ने प्रयास गर्ने र ग्यासको पाइप निकालेर आगो लगाउने प्रयास गर्ने गरेको जोशीले बताए।

अहिले ती महिलालाई दिल्ली महिला आयोगको संरक्षणमा राखिएको छ। उनको कोरोना, प्रेग्नेन्सीलगायत सबै रिपोर्ट नेगेटिभ आएको छ।

उनको परिवार सम्पर्कमा आइसकेकाले छिट्टै परिवारजनको जिम्मा लगाइने संस्थाका भारत प्रमुख जोशीले बताए।

कमेन्ट लोड गर्नुस