सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसएसबीले रोक्यो हुलाकी सडक कञ्चनपुर खण्डको कालोपत्रेको काम

फोटोः रेडियो सुदूर सञ्चारबाट
फोटोः रेडियो सुदूर सञ्चारबाट
२०७८ जेठ १९, ०८:१० खबर संवाददाता

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरमा हुलाकी सडक निर्माणको काममा पुन अवरोध गरेको छ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ पुचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झण्डै १३ सय मिटर सडकको काममा अवरोध गर्दै आएको हो। निर्माण व्यवसायी चक्रदीप शाहका अनुसार गत वर्ष ग्रावेल तथा बेस, सव–बेसको काममा अवरोध गरेको एसएसबीले यो वर्षपनि कालोपत्रेको तयारी गर्दा अवरोध गरेको हो। “बाटो तेहि हो। अरु ठाउँबाट छैन्। १३ सय मिटरमा हिड्न समेत दिदैनन्। उनीहरु आइहाल्छन्। गत वर्ष बेसको काम हुँदै थियो, काम रोकियो। यो पटक कालोपत्रेका लागि तयार गर्दै थियौ। अझ उहाँहरु आउनु भयो। धम्काउनु हुन्छ। भारतीय क्षेत्र पर्ने भन्दै काम नगर्न भन्छन्,” उनले भने। 

सीमा क्षेत्रमा हुलाकी सडक निर्माणको काममा अवरोध हुँदै आएको बिषय स्थानीय प्रशासनलाई समेत जानकारी छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संघीय सरकारलाई समेत यो बिषयमा जानकारी पठाएको छ। तर कुनै  आधिकारीक जवाफ भने आएको छैन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षसंगको समन्वयमा सडक निर्माणको काम गर्ने बताए। उनले भने, “पुरानै कुरा हो। नयाँ होइन। माथि पठाएको पत्रको जवाफ आएको छैन्। हामी समन्वय गरौला।”

सो क्षेत्रमा सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिका संचालक शाहका अनुसार हुलाकी सडकको अन्य क्षेत्रमा भने कालोपत्रेका लागि तयारी थालिएको छ। भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अवरोद्ध गर्दै आएको उनले बताए। यता हुलाकी सडक योजना कार्यालय धनगढीसंग सम्पर्क हुन सकेन।


 

कमेन्ट लोड गर्नुस