सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब एकदिवसीय विश्वकपमा १४ र टी २० विश्वकपमा २० टिम हुने

२०७८ जेठ १९, ०७:३३ खबर संवाददाता

काठमाडौं : सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ। अब एकदिवसीय विश्वकपमा १४ र टी २० विश्वकपमा २० टिम सहभागी हुनेछ।

आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको हो। पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो। सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ।

यस्तै, २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ। यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ।

महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ। एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन ६म सुपर सिक्सका लागि छनोट हुनेछन्।

यस्तै, टी२० विश्वकपमा ५–५ टिमको चार समूह हुनेछ। चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसीसीले जनाएको छ। त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ। नेपालले सन् २०१४ मा पहिलो पटक टी २० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन। एकदिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन।

सन् २०२२ को टी२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ। २०२३ को एकदिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्दैछ। तर कोरोना महामारीका कारण नेपालले खेल्ने सिरिजहरु स्थगित भएको छ।
 

कमेन्ट लोड गर्नुस