सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका निकम्मा जिल्ला अस्पतालः बजेट पाए, प्लान्ट खरिद गर्न गरेनन् बोलपत्र

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १६, ०७:५३ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशस्थित जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानको योजना अझै कार्यान्वयनमा गएको छैन।

वैशास ६ गते प्रदेश सरकारले पहाडी जिल्लाका अस्पताल र टीकापुर अस्पताललाई ८० लाखका दरले र सेती प्रादेशिक अस्पताललाई अक्सिजन बैँक स्थापनाका लागि २ करोड रकमको सुनिश्चिताको पत्र पठाएको थियो। तर अस्पतालहरुले अझै अक्सिजन प्लान्ट जडानका लागि ठेक्का सम्झौता गर्न नगरेका हुन्। 

चालु आर्थिक वर्षको ४७ दिन मात्र बाँकी रहेकाले अस्पतालहरुले अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरिएको रकम खर्च हुनेमा आशंका बढेको छ। तर जिल्ला अस्पतालहरुले सम्झौताको १५ दिनभित्र आपुर्तिको काम सक्ने गरि ठेक्काको प्रक्रियामा रहेको दाबी गरेका छन्। अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान शिर्षकमा संघीय सरकारबाट समेत रकम आएकाले कार्यान्वयनमा थप समस्या आएको उनीहरुको दाबी छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते सेती प्रादेशिक अस्पताललाई २ करोड, टीकापुर अस्पताल तथा पहाडी जिल्लाका जिल्ला अस्पतालहरुलाई ८० लाखका दरले अक्सिजन प्लान्ट जडानका लागि रकम सुनिश्चिताको पत्र पठाएको थियो। प्रदेश सरकारको बजेटमा प्रत्येक जिल्ला अस्पताल तथा टीकापुर अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजना अझै कार्यान्वयन भएको छैन्। 

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले हालसम्म बोलपत्र आह्वान नगरिएको बताए।

“सूचनाको तयारीमा छौ। तर सार्वजनिक गरेका छैनौ। केही दिनमा सूचना निकाल्छौ। असारसम्म खरिद गर्छौ भन्ने छ। रकम फ्रिज नजाला,” उनले भने।     

जिल्ला अस्पतालहरुले संघीय सरकारबाट समेत सोही शिर्षकमा रकम विनियोजन गरिएकाले थप अन्योलता देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए। 

उनले भने, “हामीले सूचना निकालेपछि संघीय सरकारबाट पनि रकम आयो। त्यो रकमले झन अन्योल बनायो। संघीय सरकारले बजेट दिएकाले झन अन्योल भयो। दुवै सरकारको बजेट मिलाएर अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएका छौ। केही दिनमा सूचना सार्वजनिक गर्छाै।”
सेती प्रादेशिक अस्पतालले ९० हजार किलोग्राम अक्सिजन जम्मा गर्न सकिने सिलिण्डर खरिदका बोलपत्र आह्वान गरेको छ। तर जडानको प्रक्रिया अझै सुरु भएको छैन्। महाकाली अस्पतालमा गत वर्ष प्रदेश सरकारले अक्सिजन प्लान्ट जडान गरेको थियो।

डडेल्धुरा अस्पतालमा पनि प्लान्ट छ। अन्य जिल्ला अस्पताल तथा टीकापुर अस्पतालमा चालु आर्थिक वर्षमा अक्सिजन प्लान्ट जडान गर्ने योजना भएपनि कार्यान्वयनमा आशंका गरिएको हो। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले संघीय सरकारले बजेट दिएकाले केही समस्या आएको बताए। उनले अस्पतालहरुमा पाइप लाइनसहितको प्लान्ट जडानका लागि निर्देशन दिएको बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस