सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोजगारी नखुले पनि सुदूरपश्चिमबाट भारत जानेहरूको संख्या बढ्यो

२०७८ जेठ १६, ०८:३५ सरेन जैरू

धनगढीः भारतमा रोजगारीको अवसर पुनः खुला नभएका बेला सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ। 

भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसायलगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेका छन्।

तर कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ४ सयको हाराहारीमा नेपालीहरू भारत पलायन हुने गरेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार यी दुई नाका भएर पछिल्लो एक सातामा ३ हजार ४ सयभन्दा बढीको संख्यामा नेपालीहरू भारत पलायन भएका हुन्। 

झण्डै दुई महिना पहिला भारतमा कोरोना बढेर निषेधाज्ञा जारी गरिएसँगै नेपाल फर्किएका नेपालीहरू अहिले स्वदेशमा खानालाउनको समस्या हुन थालेपछि धमाधम भारत फर्किरहेका छन्। ती मध्ये कति नेपालीहरू भारतमा साहुले बोलाएर फर्किरहेका छन् भने, कति नेपाली केही न केही काम गरेर जीविकोपार्जन गरौँला भन्ने आशा बोकी भारत पलायन भइरहेका छन्।

यद्यपि भारतमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी आएको देखिएको छ। योसँगै दिल्ली सरकारले सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गर्ने बताएका छ। तर नेपालीहरू रोजगारीका लागि जाने भारतका अन्य राज्यहरूमा भने निषेधाज्ञा अझै जारी नै छ। 

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतका अधिकांश राज्यहरूमा अझै कोरोनाको जोखिम कम नभएको बताए।

’दिल्लीमा सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गरिने भएपनि अन्य राज्यहरूमा निषेधाज्ञा अझै जारी नै छ।’ उनले भने, ’कलकारखाना, होटल व्यवसाय र निर्माण कार्यलगायत रोजगारीका अवसरहरू अझै बन्दनै छन्। नेपालीहरूको अलपत्र पर्ने जोखिम अझै टरेको छैन।’ 

नयाँ भेरियन्टसहितको कोरोना भाइरसले आक्रान्त पारेको भारतमा स्थिति अझै सामान्य भइसकेको छैन। यो अवस्थामा यात्रा गर्नु जोखिमपूर्ण हुने उनले बताए। उनले कोरोना महामारी केही कम भएपछि मात्र भारत फर्किन नेपालीहरूलाई आग्रहसमेत गरेका छन्। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त भएको छ। भारत र नेपालमा पनि कोरोनाले स्थिति भयावह छ। 

कोरोना महामारीका कारण एकातिर रोगको त्रास छ भने, अक्रोतिर भोकको चिन्ता छ। त्यसैले जोखिम मोलेरै भएपनि पेट र परिवार पाल्नका लागि भारत जानुपर्ने नेपालीहरूको बाध्यता कायम छ। 

प्रदेश सरकारले युवा लक्षित रोजगारीका कार्यक्रमहरू सृजना गरी यी र यस्ता बाध्यताको अन्त्य गर्न जरूरी छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस