सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मास्क बैंक स्थापना

२०७८ जेठ १५, ०४:०४ खबर संवाददाता

अछाम: अछाममा पहिलो पटक निःशुल्क मास्क वितरण केन्द्र (मास्क बैंक) स्थापना गरिएको छ। 

नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले शनिबार मंगलसेन बजार (जिल्ला समन्वय समितिको नजिक) मास्क बैंक तथा निःशुल्क मास्क वितरण केन्द्र स्थापना गरेको हो। नेपाल रेडक्रस सोसाइटी अछामले कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सदरमुकाम मंगलसेनमा मास्क बैंक स्थापना गरेको रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताए। 

मास्क बैंकबाट निःशुल्क मास्क लिएर प्रयोग गर्न सकिनुका साथै मास्क वा मास्क किन्नका लागि नगद सहयोग गर्न सकिने छ। मास्क बैक तथा निःशुल्क वितरण केन्द्रको आज एक कार्यक्रमकाबीच मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा उद्घाटन गरेका हुन्। 

जिल्ला शाखा सभापति ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले महामारीको अवस्थामा मास्क बैंक स्थापना गरी निःशुल्क मास्क वितरण तथा सेनिटाईजर उपयोग गर्न पाईने व्यवस्था गरेकोमा रेडक्रस अछामलाई धन्यवाद दिए।

उनले यस कार्यले जोखिममा रहेकालाई मास्क प्रदान गर्नुका साथै सबैलाई अनिवार्य मास्क प्रयोगमा चेतना प्रदान गर्ने विश्वास व्यक्त गरे। नेपाल रेडक्रस सोसाईटी अछाम शाखाले १० हजारको कोष स्थापना गरी मास्क बैंकको स्थापना गरेको हो । मास्क बैंक स्थापनाका लागि जिल्ला समन्वय समितिले निःशुल्क कोठा उपलब्ध गराएको छ भने रेडक्रस सोसाईटी मंगलसेन उपशाखाले ३ हजार रुपैयाँ सहयोग गरेको छ।

साथै मंगलसेन नगरप्रमुख बोहराले ५ सय थान मास्क, अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर बिस्टले २ सय थान, रेडक्रस सोसाईटीका निवर्तमान केन्द्रीय सदस्य तथा शिक्षक बृकेश सिंह बोगटीले २ सय थान तथा रेडक्रस सोसाईटी अछामका मन्त्री एवम् अछाम बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुव कुमार शाहीले २ सय थान मास्क सहयोग गरेका कार्यक्रम संयोजक अमर नाथ न्यौपानेले बताए।

कमेन्ट लोड गर्नुस