सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञामा जिल्ला प्रशासन अछामको गाडी ‘खसी ओसार्न’मा प्रयोग !

फोटोः अछामका सिद्धप्रसाद ढुंगानाको फेसबुक वालबाट
फोटोः अछामका सिद्धप्रसाद ढुंगानाको फेसबुक वालबाट
२०७८ जेठ १५, ०२:३८ खबर संवाददाता

धनगढीः अछाममा सरकारी नम्बरको गाडीमा खसी राखिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। 

बा २ झ ५१ नम्बरको गाडी र खसीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो। 

अछामका सिद्धप्रसाद ढुंगानाले फेसबुकमा लेखेका छन्, “यो अछाम जिल्लाको कुन कार्यालयको सरकारी गाडी होला ? आज शनिवार अफिसको गाडीमा खसी बोग्दै गरेको अवस्था। जसको भए पनि जो चड्ने गाडी भए पनि मलाई पनि १ किलो मासु ब्यवस्था गरी दिनहुन हार्दिक अनुरोध गर्दछु।” 

सो गाडी जिल्ला प्रशासन कार्यालय अछामको भएको खुल्नमा आएको छ। जिल्ला प्रशासन कार्यालय अछामको कार्यालय प्रयोजनमा बा २ झ ५१ नम्बरको गाडी प्रयोग हुँदै आएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए।

शनिवारका दिन भेटिएको उक्त गाडी सरकारी नम्बर प्लेटसँगै जिल्ला प्रशासन कार्यालय अछामको रहेको खुलेपछि यो विषय सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि नयाँ खुराकको विषय बनेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका बेला जिल्ला प्रशासनकै गाडीमा शनिबार पनि खसी राखिएको हो। प्रमुख जिल्ला अधिकारी मल्लले सवारी चालकलाई सचेत गराएको बताएका छन्। उनले सो बिषय धेरै ठूलो नभएको समेत प्रतिक्रिया दिए। 
 

कमेन्ट लोड गर्नुस